बैशाख १२, २०८१, बुधबार
               

दोहा उडान सूचना तथा उद्धार क्षेत्र स्थापना प्रस्ताव आइकाओद्वारा अनुमोदन

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) काउन्सिलले दोहा उडान सूचना क्षेत्र (एफआइआर) र दोहा सर्च एन्ड रेस्क्यु क्षेत्र (एसआरआर) स्थापना गर्न कतार सरकारले गरेको प्रस्तावलाई सैद्धान्तिक सहमति दिएको छ ।

आइकाओको सहमतिसँगै कतारले आफ्नो सार्वभौम एयरस्पेस र क्षेत्रीय एयरस्पेसको सुरक्षा र दक्षता वृद्धि गर्नुका साथै उच्च समुद्री तटमा रहेको अन्य अन्तर्राष्ट्रिय एयरस्पेस समावेश गरी आफ्नो क्षमता बढाउन पाउने भएको छ ।

आइकाओ काउन्सिलको २ सय २३औँ बैठकले कतार सरकारको प्रस्तावलाई अनुमोदन गरेको हो । आइकाओले कतारको प्रस्तावलाई सिकागो कन्भेन्सनले तय गरेको अनुच्छेद नम्बर १ तथा काउन्सिल महासभाको रिजोलुशन ४० को ४ ले दिएको अधिकार प्रयोग गरेर अनुमोदन गरेको जनाएको छ । 

प्रस्ताव मार्फत कतारले यस क्षेत्रकै हवाई उडानलाई सुरक्षित तथा दिगो बनाउने उद्देश्य लिएको छ । जसले विश्वकै हवाई क्षमता विस्तार तथा विकास गर्न मद्दत पुग्ने विश्वास आइकाओले लिएको छ । 

आइकाओले हवाई उडान तथा हवाई क्षेत्र सुरक्षित गर्ने विषयलाई देशहरूबीचको आपसी सम्बन्ध, सहकार्य तथा सम्मानमा समेत निर्भर रहने बताएको छ । प्राविधिक रूपमा समेत यो प्रस्तावको परीक्षण गरिने कुराको विश्वास आइकाओले दिलाएको छ ।

कतार हवाई उडान क्षेत्रको सुरक्षा, एयर ट्राफिक नियन्त्रण तथा सेवा सुविधा प्रदान गर्न सक्षम रहने वा नरहने विषयको जाँच गरिने आइकाओले जनाएको छ । साथै आइकाओले बहराइनले दशकौँदेखि सुरक्षित हवाई उडान सञ्चालन गरिरहेको स्वीकार गरेको छ । 

आइकाओले बहराइन र कतार सँगसँगै अन्य छिमेकी राष्ट्रलाई वार्ता र सहकार्यको माध्यमबाट हवाई क्षेत्र सुरक्षामा सजग रहन आह्वान गरेको छ । 

कतार सरकारले आइकाओमा सदस्य रहेका सबै राष्ट्रहरूको असाधारण सहयोगका कारण कतारले हिम्मत गर्न सकेको जनाएको छ ।

कतारका यातायात तथा सञ्चार मन्त्री जासिम विन सैफ अलसुलैतीले प्रस्तावबाट कतार मात्रै नभएर गल्फ देशहरूले नै फाइदा उठाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

उनले कतारले सिकागो सहमति तथा आइकाओ काउन्सिल रेजुलेसनको सम्मान गर्दै हवाई क्षेत्र सूचना तथा खोजी र उद्धार क्षेत्र स्थापना कार्यलाई प्राथमिकता दिने बताए ।


कस्तो लाग्यो ?

यो पनि