बैशाख २५, २०८१, मंगलबार
               

सुदुर क्षितिजमा चम्कदैं, सगरमाथा र लालीगुराँस

नेपाल फ्ल्यास
पुस ०१, २०७६

ADVERTISEMENT

काठमाडौंः हाम्रा मनस्थितिहरु आजकाल इतिहास र सम्पदाका कतिपय पक्षमा नाक खुम्चाइरहेका छन् । भूगोलका कतिपय वरदानलाई समेत विभिन्न कालखण्डको उपज झैं आफुभन्दा टाढै राख्ने प्रयास हुन थालेका छन् । मुलुक जातीयभन्दा पनि मनोवादको छुवाछुतमा अल्झिन थालेको छ । हो, यही बेलामा ब्रम्हाण्डको सुदुर कुनाबाट मिठो सन्देस आएको छ । सुदुर क्षितिज हाम्रा प्यारा नामबाट चम्किन थालेका छन् । पृथ्वीबाट निकै टाढा रहेका ग्रह तथा त्यो ग्रहले परिक्रमा गर्ने ताराको नाम क्रमशः लालीगुँरास र सगरमाथा राखिएपछि नेपालीको गौरवले थप एक पाइला टेकेको छ ।

सगरमाथा र लालीगुराँस नामाकरण गरिएको तारा र ग्रह पृथ्वीबाट १ सय ७२ प्रकाश वर्ष टाढा छ । एक प्रकाश वर्ष भनेको प्रकाशले एक वर्षमा तय गर्ने दूरी हो। प्रकाश एक सेकेन्डमा करिब तीन लाख किलोमिटरको यात्रा गर्छ । त्यही आधारमा सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न ८ मिनेट २० सेकेन्ड लाग्छ ।

फ्रान्सको राजधानी पेरिसमा आयोजना गरिएको एक कार्यक्रममा इन्टनेसनल एस्ट्रोनोमिकल युनियनले ती ग्रह र ताराको नाम लालीगुराँस र सगरमाथा राखेको हो ।

नेपाली नामकरण गरिनुअघिसम्म वैज्ञानिकहरुले सो तारालाई एचडी १००७७७ र ग्रहलाई एच डी १००७७७ बी भन्ने गर्दथे । अहिलेसम्म सौर्य मण्डलभन्दा बाहिर चार हजार ग्रह (एक्जोप्लानेट) पत्ता लागेपनि सबैको नाम राखिएको छैन । सौर्यमण्डल बाहिरको ग्रहको नाम राख्ने जिम्मेवारी इन्टनेसनल एस्ट्रोनोमिकल युनियनको हो ।

संयुक्त राष्ट्रसंघमातहतको युनियनले नेपालसहित विश्वका एक सय १० देशलाई तारा तथा ग्रहका नाम राख्ने अवसर दिएको दिएको थियो । सन्  १९१९ मा स्थापना भएको युनियनले यो वर्ष शतवार्षिकी मनाउँदै छ ।

सो अवसरमा युनियनका सदस्य देशहरुले बाह्यग्रह र ताराको नाम राख्ने यस्तो अवसर पाएका हुन्। ‘नेम एक्जो वल्र्ड’ नामक यस अभियानमा ७ लाख ८० हजार प्रत्यक्ष रुपमा सहभागी भएको युनियनले जनाएको छ । जसमा ३ लाख ६० हजार वटा नाम सुझाइएको थियो । नेपालबाट पनि सयौंको संख्यामा सहभागीता थियो । जसमा तारा र ग्रहको गरी ४ सय ७६ जोडी नाम सुझाइएको थियो ।

भदौ महिनामा युनियनको नेपाल च्याप्टरले सर्वसाधारणबाट नामको आह्वान गरेको थियो। त्यसबाट आएका नामहरुलाई सर्टलिस्ट गरेर मतदान गरिएको थियो।

युनियनको नेपाल प्रतिनिधि तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले विभिन्न चरणको मतदानपछि ती नाम छनोट भएको बताए ।

‘ग्रह र ताराको नाम राख्न सार्वजनिक आह्वान गरेका थियौँ। सबैबाट आएको नामलाई सर्टलिस्ट गरेर फेरि त्यसमा मतदान र्गयौँ,’ भट्टराईले नेपालखबरसँग भने, ‘त्यसबाट आएको शीर्ष पाँच नाम आईओयूमा पठायौँ र उनीहरुको तयार पारेको गाइडलाइनअनुसार ताराको नाम सगरमाथा र ग्रहको नाम लालीगुराँस राखिएको हो।’

नाम छनोटमा १९ हजार ८ सय २३ मत परेको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथा र नेपालको राष्ट्रिय फूल लालीगुराँस नेपालको निशान छापमा समेत अंकित छ । ताराका लागि गरिएको छनोटमा गोर्खा, अरनिको, जानकी, यती र डाँफेको नाममा सबैभन्दा बढी मत परेको थियो । त्यसैगरी ग्रहतर्फ सगरमाथा, गौतम बुद्ध, भृकुटी, लालीगुराँस र कुमारीका नाम शीर्ष स्थानमा रहेका थिए । ‘आईओयूले नेपालका प्राकृतिक विषयलाई थिम बनाउँदा यो दुवै नाम परेको हो,’ भट्टराईले भने ।

युनियनको नेपाल च्याप्टरले नाम छनोटका लागि भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको थियो। जसमा त्रिभुवन विश्वविद्यालयका भौतिकशास्त्र विभागका प्रमुख प्राध्यापक विनिल अर्याल, टेक्सस विश्वविद्यालय अर्लिंगटनका सुमन सत्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी गीता बस्याल, विज्ञान शिक्षक संघकी रुपा मानन्धर, नेपाल एस्ट्रोनोमिकल सोसाइटीकी मनिषा द्वा सदस्य रहेको समिति गठन गरिएको थियो।

‘लालीगुँरास ग्रह वृहस्पतिभन्दा केही ठूलो छ,’ नाम छनोट समितिका सदस्य सुमन सत्यालले नेपालखबरसँग भने, ‘यसमा जीवन भेटिने सम्भावना छैन । ग्यासको डल्लो मात्र छ । सगरमाथा तारा भने सूर्य जत्रो छ तर यो हाम्रो सूर्यभन्दा कान्छो हो।’ सूर्य ४ अर्ब ५० करोड वर्ष पहिले बनेको मानिन्छ। सगरमाथा तारा करिब दुई अर्ब वर्ष पहिले बनेको हो।

लालीगुराँस ग्रह र सगरमाथा ताराबीचको दूरी पृथ्वी र सूर्यजत्तिकै छ। सूर्य र पृथ्वीबीचको दूरी १४ करोड ९६ लाख किलोमिटर छ। सूर्यले पृथ्वीलाई परिक्रम गर्न ३६५ दिन लगाएजस्तै लालीगुराँसले ३ सय ८३ दिन लगाउँछ। सिंह राशी÷तारामण्डलमा अवस्थित ताराको अहिलेसम्म एउटा मात्रै ग्रह भेटिएको छ। ‘यसमा अन्य ग्रहहरुको पनि खोजी भइरहेकोले पछि कुनै ग्रह वा यो तारा प्रणालीमा भेटिने वस्तुहरुको नाम पनि नेपालका प्राकृतिक विषयबाटै राखिने छ,’ भट्टराईले भने।

आईएयूले पृथ्वीबाट हेर्दा देखिने आकाशलाई ८८ भागमा विभाजन गरेको छ। ती प्रत्येकलाई तारामण्डल भनिन्छ र सहजताका लागि फरकफरक नाम दिइएको छ। सौर्यमण्डलको सूर्य, ग्रह तथा उपग्रहहरु वर्षभरी हिँड्ने मार्गलाई राशी भनिन्छ। आधुनिक खगोल विज्ञानमा यस्ता राशी १३ वटा छन्। प्राचीन खगोल विज्ञानमा १२ वटा मात्रै मानिँदै आएको थियो।


कस्तो लाग्यो ?

यो पनि