बैशाख १४, २०८१, शुक्रबार
               

उमेरका कारण प्रिती राईले गुमाइन् आईलिग

नेपाल फ्ल्यास
कात्तिक १९, २०७८

ADVERTISEMENT

होचो कद, तीव्र गतिको खेल, साथै उत्कृष्ट फिनिसिङ । यिनै कारण गत भदौमा भएको बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमा प्रिती राई सबैको नजरमा पर्न सफल भइन् । डेब्यू खेलमै प्रितीले गोल पनि गरिन् । जुन गोल दर्शनीय रहेको थियो । प्रितीसँगै सविता राना मगरले समेत डेब्यू खेलमै गोल गरिन् । 

दुई खेलाडीको अग्रपंक्तिमा सुन्दर खेलसँगै नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको थियो ।  यसपछि नेपालले एएफसी एसियन कप छनोट खेलमा प्रतिस्पर्धा गर्‍यो । सो प्रतियोगितामा समेत प्रितीले उत्कृष्ट प्रदर्शन गरिन्  । 

उमेरले प्रिती मंसिरमा १७ वर्षको पुग्नेछिन् । उमेर समूहको साफ च्याम्पियनसिपमा नेपालको यू–१५ राष्ट्रिय टोलीको कप्तानी गरेकी प्रितीले एएफसी यू–१९ च्याम्पियनसिपको छनोट खेलमा समेत राम्रो प्रदर्शन दिइन् । जसका कारण प्रितीलाई विभागीय टोली एपीएफ क्लबले अनुबन्धन गर्‍यो । करारमा खेलिरहेकी प्रितीले त्यहाँसमेत आफूलाई प्रमाणित गरिन् । टोली राष्ट्रिय महिला लिग नै च्याम्पियन भयो । 

त्यसपछि राष्ट्रिय टोलीको क्लोज क्याम्पमा दोस्रो पटक स्थान बनाएकी प्रितीले यस पटक भने डेब्यू नै गरिन् । प्रितीलाई नेपाली महिला टोलीको भविष्यको रूपमा हेरिएको छ । उनको खेलले नै यसलाई प्रमाणित गरिसकेको छ । 

गत राष्ट्रिय लिगमा एपीएफबाट खेल्ने सावित्रा भण्डारी (साम्बा)ले घुँडाको चोट बोकेपछि साम्बाको स्थान क्लबमा होस् या राष्ट्रिय टोलीमा प्रितीले पाएकी छिन् । भलै अग्रपंक्तिमा प्रिती सावित्रा जत्तिको सफल हुन भने सकेकी छैनन् । तर, भविष्य भने प्रितीले सावित्राकै सफलता पाउने संकेत देखाएकी छिन् । 

सानै उमेरमा सफलताको उचाइमा पुग्ने कोसिस गरेकी प्रितीलाई देशभित्र मात्र हैन, बाहिरी क्लबबाट समेत खेल्न प्रस्ताव आउन थालेको छ ।मिडफिल्डर र फरवार्ड जुनसुकै पोजिसनमा खेल्न सक्ने प्रितीलाई भारतीय क्लबबाट खेल्न प्रस्ताव आउन थालेको हो । दक्षिण एसियाली फुटबलमा ‘पावर हाउस’को उपमा पाएको भारतीय आईलिगका लागि प्रितीलाई प्रस्ताव आएको छ । 

तर, प्रितीले आफ्नो उमेरकै कारण भारतीय महिला आईलिग खेल्न नपाउने भएकी छिन् । भारतीय आईलिग छनोट खेलमा महराष्ट्रको ‘फुटबल क्लब कोलहापुर सिटी’ले प्रितीलाई छनोट खेल्न प्रस्ताव गरेको हो । 

तर, लिग खेल्न श्रम भिषामा विदेश जानुपर्ने हुँदा कम उमेरका कारण प्रितीले लिग खेल्न भारत जान पाइनन् ।  ‘लिग खेल्न प्रस्ताव आएको थियो । तर, उमेर नपुगेर अवसर गुमाएँ’, प्रितीले बताइन् । 

छनोट लिग खेल्न अर्की युवा स्टार सविता राना मगरलाई समेत प्रस्ताव आएको छ । कोलहापुरले नै दुवै खेलाडीलाई माग गरेको थियो । प्रिती जान नपाए पनि सविताको भने जाने तयारी अन्तिम अवस्थामा पुगेको छ । उमेर कम भएकै कारण बाहिर लिग खेल्न जान नपाएको यो पहिलो घटना भने हैन, यसअघि भुटानको लिग खेल्न हाल राष्ट्रिय टोलीमा रहेका गोलरक्षक अन्जना राना मगर र डिफेण्डर पूजा रानालाई प्रस्ताव आएको थियो । 

तर, कम उमेरका कारण दुवै खेलाडी अन्तिम समयमा उडान टिकटसमेत रद्द गर्न पुगेका थिए । पछिल्ला दुई सिजन हिरो महिला लिगमा नेपालबाट फरवार्डद्वय सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतले मौका पाएका थिए । 

यसअघि सावित्रा र अनिताले पहिलो भारतीय आईलिगमा सेथु एफसीलाई लिगको उपाधि दिलाएका थिए । दोस्रो पटक अनिता सेथुमै रहँदा सावित्रा गोकुलम केरेरा पुगेकी थिइन् । जहाँ सावित्राको उत्कृष्ट प्रदर्शन प्रेरित गोकुलम पहिलो पटक हिरो आईलिगको उपाधि हात पार्न सफल भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि