माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा शनिबार नेपालले भारतको सामना गर्दैछ।
आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले चिरपरिचित दुई प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यस अघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो । त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ ।
खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । खेलअघि पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले टोलीको तयारीबारे जानकारी दिएका थिए। प्रशिक्षक श्रेष्ठले नेपालले भारतविरुद्ध पुरानो खेलबारे बिर्सेर नयाँ खेलका लागि तयारी गरिरहेको बताए ।
कप्तान किरणले भने माल्दिभ्स आफ्नो दोस्रो घर रहेकाले स्थानीय समर्थकले नेपालको साथ दिने आशा गरे । भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ । नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।