
नियम पालना गराउने नाममा अस्ट्रेलियाले आफ्ना ओलम्पियनलाई २८ दिनसम्म क्वारेन्टाइन अवधि तोकेको छ ।
अस्ट्रेलियाली ओलम्पिक कमिटी (एओसी) ले यसलाई क्रूरताको संज्ञा दिएको छ ।
सिड्नी हुँदै दक्षिण अस्ट्रेलियाली राज्यमा जाने खेलाडीहरुले सिड्नीमा २ साता र आफ्नो राज्यमा २ साता गरी ४ सातासम्म क्वारेन्टाइन बस्नुपर्ने पट्यारलाग्दो नियम पालाना गरिरहेका छन् ।
अस्ट्रेलियामा अन्य देशबाट आउनेहरुले अनिवार्य रुपमा २ साताको क्वारेन्टाइन अवधि पूरा गर्नुपर्छ । राज्यपिच्छे फरक नियम हुँदा खेलाडीहरु त्यसको मारमा परेका छन् ।
‘अरु देशका खेलाडीहरु आफ्नो देशमा फर्केर खुसीयाली मनाइरहँदा हामीसँग भने सबैभन्दा क्रूर र लापरबाही व्यवहार भएको छ,’ एओसीले भनेको छ, ‘खेलाडीहरुलाई ओलम्पिकको माध्यमबाट देशको प्रतिष्ठा बढाएकोमा दण्डित गरिँदै छ ।’
अस्ट्रेलियाली ओलम्पिक टिमका १६ जना सदस्य पहिलेदेखि नै न्यू साउथ वेल्सको राजधानी सिड्नीमा क्वारेन्टाइनमा छन् । कोभिड १९ डेल्टा स्ट्रेनको उच्च जोखिमका कारण क्वारेन्टाइन अवधि घटाउन एओसीले गरेको प्रस्ताव न्यु साउथ वेल्स सरकारले खारेज गरिदिएको छ ।
एओसीका मुख्य कार्यकारी अधिकृत म्याक क्यारोलले वक्तव्यमा भनेका छन्, ‘हाम्रा सबै ओलम्पियनले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । उनीहरु टोकियोको निकै नै सुरक्षित र नियन्त्रित बबलमा दुई साता विताए । र पछिल्लो दुई साता लगातार कोरोना परीक्षणबाट गुज्रिएका छन् ।’
अस्ट्रेलिया इन्स्टिच्युड अफ स्पोर्टसका मुख्य चिकित्सकीय अधिकारी डेविड ह्युजका अनुसार २८ दिनसम्मको क्वारेन्टाइन अवधिले खेलाडीको मानसिकतामा नकारात्मक असरको जोखिम उच्च हुने बताए ।