बैशाख २१, २०८१, शुक्रबार
               

के होला अल्मुताइरीको राजीनामा प्रकरण ?

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

केही सातायता राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरी चर्चामा छन् । तर नराम्रो कारणले ।

उनले फुटबल प्रशंसकलाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरे । अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई राजीनामाको कारण देखाए । नेम्वाङकै कारण काम गर्ने वातावरण नपाएको उनको गुनासो थियो ।

अल्मुताइरीसँगै विवादमा आए एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङ । नेम्वाङको पछिल्लो समयमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग मित्रवत सम्बन्ध चलेको छैन । उनले एन्फाभित्र सुशासन, पारदर्शिता र सामूहिक नेतृत्वको बहस पुन: छेड्न खोजेका छन् । तर उनको बहस सोचे जसरी उठिरहेको छैन । नेम्वाङ आफैँ एन्फा नेतृत्वको आकांक्षी हुन् ।

उनको छेड्न खोजेको बहसलाई अहिलेसम्म धेरैले राजनीतिक खपतको रूपमा बुझेका छन् ।

अध्यक्ष शेर्पाले नेम्वाङलाई ‘मिनिमाइज’ गर्ने अनि नेम्वाङले शेर्पामाथि दुख दिने शृङ्खला एन्फामा चलिरहेको छ । यहीँ राजनीतिक दाउपेचमा आइपुगेका छन्, प्रशिक्षक अल्मुताइरी ।

उनको फुटबल प्रशंसकमाझ राम्रो लोकप्रियता छ । तर आचरण र ब्यहोरा भने छैन । शुक्रबारको एन्फा कार्यसमिति बैठकमा समेत उनको त्यही ब्यहोरा देखाए । बैठकमा चर्किदै-झर्किदै बोल्नेदेखि छलफल कक्षलाई छाडेर हिड्नेसम्मको अशोभनीय व्यवहारमा प्रस्तुत भए । राजीनामा प्रकरणबारे छानबिन गर्न माग गर्दै नेम्वाङले एन्फामा निवेदन दिएका थिए । एन्फा कार्यसमितिका सदस्यले प्रशिक्षकको समेत धारणा सुन्न चाहेपछि उनलाई बैठकमा बोलाइएको थियो ।

अल्मुताइरीमाथि एन्फा राजनीतिमा मिसिएको ‘बात’ लागेको छ । उनले आफ्ना असन्तुष्टि सामाजिक सञ्जालमा मात्र पोखेनन्, वरिष्ठ उपाध्यक्षमाथि संगीन आरोप समेत लगाए । एन्फाको ‘सेकेन्ड लिडर’माथि अल्मुताइरीले लगाएको आरोप अत्यन्त आपत्तिजनक थियो । वरिष्ठ उपाध्यक्षमाथि यत्रो आरोप लगाइसकेपछि उनी आफैँ मुख्य प्रशिक्षकको जिम्मेवारीबाट हट्न पर्दथ्यो, नभए एन्फाले उनीमाथि कारबाही गर्नु पर्ने थियो । महासचिवलाई सम्बोधन गरेर अल्मुताइरीको राजीनामा पत्र एन्फामा भने आएन ।

एउटा प्रशिक्षकले संस्थाको वरिष्ठ उपाध्यक्षमाथि सामाजिक सञ्जालमा अप्रमाणित आरोप लगाउन मिल्दैन । तर फुटबलका प्रशंसकहरू र एन्फा नेतृत्व उनीप्रति नरम देखिए ।

राज्य गरिब भएपछि के हुन्छ भन्ने अर्को एउटा उदाहरण हो, अल्मुताइरी प्रकरण ।

उनी जस्ता प्रशिक्षक अनुदानमा आउँछन् । हरेक घटनामा सर्त तेर्साउँछन् । उद्दण्डता देखाउँछन् । कसैलाई टेर्दैनन्, कसैलाई गन्दैनन् ।पदाधिकारीमाथि हिलो छ्याप्छन् । पपुलिस्ट कुरा गर्छन् । प्रपोगन्डा रच्छन् । सिंगो फुटबललाई ‘माझी औला’ देखाउँछन् । जगत् हेर्‍या–हेर्यौ हुन्छ ।

प्रशिक्षकको ‘स्टन्ट’ प्रकरणको छानबिन अब मन्त्रालयले गर्ने भएको छ । एन्फा आफैँले यसको छानबिन गर्न हुने थिएन नै । घटनामा सबै मुछिएका थिए । वरिष्ठ उपाध्यक्ष र प्रशिक्षक विवादका मुख्य पात्र भइहाले । धेरैले कतै अध्यक्ष पो संलग्न छन् कि भनेर शङ्का गरेका थिए । यसमा उच्चस्तरीय छानबिन आवश्यक थियो । एन्फाको शुक्रबारको बैठकले घटनाको छानबिनका लागि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
तर एउटा प्रश्न नेपाली फुटबलमा रहिरहनेछ । के अल्मुताइरीले सही गरेका थिए ?

पक्कै थिएनन् । कुनै एक प्रशिक्षकले सामाजिक सञ्जालमार्फत फुटबल संघका वरिष्ठ पदाधिकारीमाथि लगाएको आरोप-आक्षेप सही मानिँदैन । प्रशिक्षक त मैदानभित्र व्यस्त हुनुपर्ने हो । तर अल्मुताइरीले एन्फा राजनीतिमा युद्धको शंख फुके ।

उनले जे गरे, ठीक गरेनन् । गलत गरे । सामाजिक सञ्जालमा उनको ‘स्टन्ट’सँगै सिंगो फुटबल तरंगित बन्यो । बदनाम बन्यो । धेरैले फुटबललाई गाली गरे । एन्फामाथि प्रहार गरे । पदाधिकारीमाथि आक्षेप लगाए । अल्मुताइरी कारण देखिए ।

के सिंगो फुटबल र यस सम्बन्धी संस्थाभन्दा एउटा प्रशिक्षक ठुलो हुन सक्छ ? पुच्छरले भैँसी हल्लाएको सुहाउँछ ? पक्कै शोभनीय देखिँदैन ।
त्यसो भए अब कसरी घटना अघि बढ्ला ?

एन्फाले छानबिनका लागि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेसँगै अल्मुताइरी प्रकरणको अब ‘च्याप्टर क्लोज’ भएको छ । पछिल्ला दिनमा देखिएको फुटबल विवादले ‘फोर्स ल्यान्डिङ’ गरेको छ । शुक्रबारको एन्फा बैठकमा उपाध्यक्ष वीरबहादुर खड्काले प्रशिक्षकलाई केही ‘नसिहत’ भए पनि दिनुपर्ने धारणा राखेका थिए । तर एन्फा अध्यक्ष शेर्पाले त्यसलाई मानेनन् । प्रशिक्षकमाथि एक्सन लिँदा राष्ट्रिय टिमको वर्तमान गति र निर्माण भंग हुने शेर्पाले बताए ।

उनी कम्तीमा अक्टोबरसम्म प्रशिक्षकलाई चलाउन चाहँदैनन् । अक्टोबरमा साफ फुटबल छ । शेर्पा साफको नजिकिँदो समयमा प्रशिक्षक फेर्न चाहँदैनन् । अल्मुताइरीलाई नेपाल ल्याउनुको शेर्पाको मुख्य उद्देश्य पनि साफ फुटबलको उपाधि जित्नु हो ।

आसन्न साफ नेपालले आयोजना गर्ने देखिएको छ । साफ आयोजना लागि अध्यक्ष शेर्पा आफैँले पनि धेरै मेहनत गरेका छन् । सरकारसँग ५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेका छन् । शनिबार साफलाई १० करोडको विस्तृत प्रस्ताव पठाउँदै छन् । उनी साफ आयोजना मात्र हैन, उपाधि पनि जित्न चाहन्छन् । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो फुटबल उपाधि शेर्पा आफ्नै कार्यकालमा हासिल गर्न चाहन्छन् ।

उपाधिका लागि प्रतिबद्ध प्रशिक्षक चाहन्छन्, अल्मुताइरीमा शेर्पाको विश्वास देखिन्छ । त्यसैले तमाम विवादबीच एन्फाले अल्मुताइरीको संरक्षण गरेको छ ।

साफको तयारीका लागि एन्फाले भारत, बंगलादेश, सिंगापुरलगायतका देशसँग मैत्रीपूर्ण खेलको तयारी गरिरहेको छ । अबका केही महिना राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भाग लिनेछ । साफको तयारी गर्नेछ । फुटबलको हितका लागि अल्मुताइरी प्रकरणको ‘च्याप्टर’ अहिलेलाई यहीँ बिसाउन आवश्यक छ ।


कस्तो लाग्यो ?

यो पनि