चैत १५, २०८०, बिहीबार
               

कोपा अमेरिका फाइनल : आइतबारको मिरमिरेमा मेसी र नेयमारको अग्निपरीक्षा

नेपाल फ्ल्यास
असार २६, २०७८

ADVERTISEMENT

आइतबार बिहान रियो दि जेनेरियोको ऐतिहासिक मराकाना रंगशालामा ब्राजिलसँगको फाइनल खेलमा लियोनल मेस्सीका लागि अर्जेन्टिनाबाट सबैभन्दा ठूलो उपाधि हासिल गर्ने अवसर हुनेछ ।

३४ वर्षीय मेस्सीले बार्सिलोनाबाट आफ्नो डेढ दशकको करिअरमा १० पल्ट ला लिगा, चारपल्ट च्याम्पियन्स लिगसहित झण्डै तीन दर्जन उपाधि उचालेका छन् । तर ६ पल्टका बेलोन डी’ओर विजेता यी स्ट्राइकरले सन् २००८ को बेइजिङ ओलम्पिकमा फुटबलमा स्वर्ण जित्नुबाहेक अन्य सफलता ब्यूनस आयर्स भित्र्याउन सकेका छैनन् । 

‘हामी उनको यो सफलता रोक्नका लागि प्रयासरत रहनेछौं,’ ब्राजिलका डिफेण्डर मार्किन्होजले भनेका छन् । उनको यो भनाइबाट के बुझ्न सकिन्छ भने मेस्सीलाई रोक्नका लागि ब्राजिलले घरेलु मैदान र युवा जोशको भरपूर उपयोग गर्नेछ । २०२१ को कोपा अमेरिका मेस्सीका लागि अर्जेन्टिनाको जर्सीबाट १०औं ठूलो प्रतियोगिता हो । उनले चारपल्ट फिफा विश्वकप र ६ पल्ट दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता खेलेका छन् । अर्जेन्टिना सन् १९९३ यता कोपा उपाधि जित्न सकेको छैन । त्यतिबेला उसले ब्राजिललाई नै फाइनलमा हराएको थियो । 

करिअरको एकमात्र क्लब बार्सिलोनासँग सम्झौताबिहीन रहेका मेस्सीले जारी प्रतियोगितामा चार गोल गरेका छन् भने कीर्तिमानी ५ असिस्ट गरेका छन् । 

मेस्सीका पूर्वटिममेट ब्राजिलियन सुपरस्टार नेइमार जुनियरका लागि पनि यो पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि अवसर हो । सन् २००७ को संस्करणमा कोपा उपाधि जितेयता ब्राजिल पनि ठूला प्रतियोगिताको उपाधि जित्न संघर्षरत छ । 

हामी हाम्रो आजीवन प्रतिस्पर्धीसँग खेल्न गइरहेका छौं । दक्षिण अमेरिकाका दुई शक्तिशाली टोलीबीच फाइनल हुन गइरहेको छ र यो एउटा शानदार खेल हुनेछ भन्ने आशा छ,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भनेका छन् ।

कोरोना महामारीका कारण एक वर्ष सारिएको कोपा अमेरिकाको यो संस्करण १०५ वर्षको इतिहासमा पहिलोपल्ट दुई देश– कोलम्बिया र अर्जेन्टिनामा गर्न लागिएको थियो । तर दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसनले कोलम्बियाको नागरिक आन्दोलनका कारण गएको मे महिनामा अर्जेन्टिनामा मात्र आयोजना गर्ने निर्णय गरेको थियो । तर अर्जेन्टिनाले पनि आफ्नो देशमा कोरोना संक्रमित बढेको भन्दै आयोजना अस्वीकार गरेको थियो । 

अन्तिम समयमा प्रतियोगिता ब्राजिलमा गर्ने निर्णय गरियो । सन् २०१९ को संस्करण पनि ब्राजिलमै भएको थियो । कोरोनाले आक्रान्त ब्राजिलमा प्रतियोगिता गर्ने सरकारी निर्णयको खेलाडीहरुले नै विरोध गरेका थिए । सबै खेल विना दर्शक खेलाइएको थियो । 

पूर्व निर्धारित तालिकाअनुसार यो फाइनल कोलम्बियाको बेरेक्वेल्ला सिटीमा आयोजना हुनुपर्ने थियो । तर अब ऐतिहासिक मराकाना रंगशालामा हुन गइरहेको छ । यही रंगशालामा सन् २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिनाले जर्मनीसँग पराजय ब्यहोरेको थियो । 

यसपल्ट कोपामा सहभागी १० देशलाई ५–५ वटा रहने गरी २ समूहमा विभाजन गरिएको थियो । शीर्ष चार टोलीले क्वाटरफाइनल खेलेका थिए । फिफा विश्व वरियतामा तेस्रो स्थानमा रहेको ब्राजिलले भेनेजुएलालाई ३–० ले हराएर प्रतियोगिताको सुरुआत गरेको थियो । 

अर्जेन्टिना र ब्राजिल दुवै आफ्नो समूहमा शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा पुगेका थिए । अन्तिम आठमा उरुग्वे, पाराग्वे, चिली, पेरु, कोलम्बिया र इक्वेडर पुगेका थिए । चारमध्ये २ क्वाटरफाइनल खेलको नतिजा पेनाल्टी शुटआउटबाट लिइएको थियो । कोपा अमेरिकाको सबैभन्दा सफल टोली उरुग्वेले कोलम्बियासँग पराजय ब्यहोरेको थियो भने सन् २०१९ को उपविजेता पेरुले पाराग्वेलाई पेनाल्टीमै हराएको थियो । 

सन् २०१६ को विजेता चिलीले क्वाटरफाइनलमा ब्राजिलसँग पराजय ब्यहोरेर बाहिरियो । सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई हराउन पेनाल्टीको साहारा लिनुपर्‍यो भने ब्राजिलले पेरुलाई १–० ले हरायो ।  फिफा वरियतामा आठौं स्थानमा रहेको अर्जेन्टिनाले सन् १९९३ मा उपाधि जितेयता चारपल्ट कोपा अमेरिकाको फाइनल गुमाएको छ । यद्यपि उसलाई उरुग्वेको कीर्तिमानी १५औं कोपा उपाधि बारबर गर्ने अवसर भने छ । ब्राजिलले अहिलेसम्म ९ पटक कोपा अमेरिका उपाधि जितेको छ ।

पेरिस सेन्ट जर्मेइनका विंगर एंगेल डी मारियाले सेमिफाइनलमा कोलम्बियाविरुद्ध शानदार प्रदर्शन गरेका थिए । सायद फाइनलमा पनि उनैले निरन्तरता पाउनेछन् । यही सिजन बार्सिलोनामा अनुबन्धित सर्जियो एग्यूरोको अनुभवलाई पनि फाइनलमा प्रयोग गर्न सकिन्छ । 

सेमिफाइनलमा पेरुविरुद्ध लिभरपुल स्ट्राइकर रोवर्टो फिर्मिनो र रियल मड्रिडका भिनिसियस जुनियरलाई बेन्चमा राखिएको थियो । त्यस्तै लिभरपुलका फाविन्होलाई छाडेर मिडफिल्डमा म्यानचेस्टर युनाइटेडका फ्रेडलाई विश्वास गरिएको थियो । 

ब्राजिल भर्सेस अर्जेन्टिना फुटबलको साधारण खेलभन्दा धेरै माथिको हो,’ ब्राजिलियन डिफेण्डर माक्वीन्होजले भने, ‘यी जर्सीले संसारभरका फुटबल समर्थकलाई चनाखो गरिदिनेछ ।’


कस्तो लाग्यो ?

यो पनि