काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टिमका पूर्वगोलरक्षक तथा अखिल नेपाल फूटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ ।
शाहीको गएराति उनको दैलेखस्थित घरमा निधन भएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिँदै लेखेका छन् । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलिमा रहेर खेलेका थिए । विभिन्न रोगले थलिएका उनको गए राति निधन भएको हो ।
उनले सन् १९७९ देखि १९८९ सम्म एक दशक राष्ट्रिय टोलीमा नेपालको गोलपोष्ट संहालेका थिए । शाही सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफका स्वर्ण पदक विजेता खेलाडी हुन् ।
उनले सन् १९८४, १९८५, १९८७ र १९८९ गरी चारपल्ट साफ गेम्स खेलेका छन् । सन् १९८२ मा नवौं एसियाली खेलकुदमा पनि उनी नै राष्ट्रिय टोलीका गोलरक्षक थिए । त्यो प्रतियोगिता नेपाली फूटबलको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसबाहेक उनले सन् १९८६ को विश्वकपका लागि नेपालमै भएको छनोट प्रतियोगितामा मलेसिया र दक्षिण कोरियासँग खेल्दा शाही नै गोलरक्षक थिए ।
सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए ।