वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
टाउकाेमा समस्या देखिएपछि उनको शल्यक्रियाको तयारी भइरहेको थियो । रिमाल भलिबलका उत्कृष्ट प्रशिक्षकमध्येका एक थिए । उनी विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको समेत प्रशिक्षक रहेर काम गरेका थिए । पछिल्लो समय रिमाल खेलकूद विज्ञान प्रतिष्ठानको निर्देशकका रुपमा कार्यरत थिए । रिमाल प्रशिक्षकका रुपमा निकै सफल रहेको नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा बताउछन् । “रिमालको प्रशिक्षणमा नेपाली पुरुष तथा महिला टोलीले उल्लेख्य सफलता हासिल गरेको छ”, अध्यक्ष शर्माले प्रशिक्षक रिमालको निधनप्रति दुःख व्यक्त गर्दै भने ।
प्रशिक्षक रिमालको निधनबाट नेपालको भलिबललाई अपूरणीय क्षति पुगेको उनको बुझाइ छ । भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट प्रशिक्षक रिमाललाई नेपालको भलिबलमा अहोरात्र खटिने व्यक्तिका रुपमा लिन्छन्-“नेपालको भलिबललाई अहिलेको अवस्थासम्म ल्याई पुर्याउन प्रशिक्षक रिमालको महत्वपूर्ण योगदान रहेको छ ।”
सन् २०१४ मा नेपालमा भएको आमन्त्रण भलिबल च्याम्पियनशिपमा उनले महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । उक्त प्रतियोगितामा उनले ऐतिहासिक रजत पदक दिलाउन सफल भएका थिए । बाह्रौँ सागमा महिला टोलीले कास्य जित्दा पनि रिमाल प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा महिलाबीच भलिबल टोलीले १३औँ सागमा कास्य पदक प्राप्त गरेको थियो । राष्ट्रिय खेलकूद परिषद्ले आज बिहान राखेपमा श्रद्धाञ्जली सभाको आयोजना गरेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।