इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले बेनेभेन्टोलाई पराजित गर्दै दोस्राे स्थानमा उक्लिएकाे छ । आइतबार राति भएको खेलमा नापोलीले बेनेभेन्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बेनेभेन्टोको मैदानमा एक गोलले पछि परे पनि पुनरागमन गर्दै नापोलीले जित हात पारेको हो । खेलको ३०औं मिनेटमा रोबर्टो इनसाइनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ६०औं मिनेटमा लोरेन्जो इनसाइनले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए । ६७ औं मिनेटमा आन्द्रे पिटाग्नाले गोल गर्दै नापोलीलाई महत्वपूर्ण जित दिलाए । नापोलीले ५ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको हाे ।