दुबइ । अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा मृत्यु भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उनको बिहीबार मृत्यु भएको हो ।
आकस्मिक रुपमा हृदयघात भएर उनको ५९ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिए । स्टार इन्डियाद्धारा जारी वक्तव्यमा लेखिएको छ, ‘डिन मेर्भीन जोन्सको निधन भएको जानकारी गराउनु पर्दा हामीलाई अत्यन्त दुःख लागेको छ । यो दुःखद् घडीमा हामी उहाँका परिवारजन, सुवेच्छुक र समर्थकहरुको साथमा छौँ, उहाँको हृदयघातका कारण आकस्मीक निधन भएको हो ।’
उनको अन्त्येष्टिको व्यवस्थापनका लागि आफूहरु अष्ट्रेलियाली उच्च आयोगको सम्पर्कमा रहिरहेको पनि स्टार इन्डियाले जनाएको छ । क्रिकेट खेलसम्वन्धी विभिन्न भूमिकामा रहेर लामो समय काम गर्नु भएका जोन्सलाई दक्षिण एसियामा क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान गरेको व्यक्तिका रुपमा चिनिन्छ ।
उनले क्षमतावान युवा क्रिकेटरहरुलाई प्रोत्साहन र सहयोग गर्ने गर्थे भने उनका लाखौँ समर्थकहरु थिए । उनि सन् १९८० देखि १९९० सम्ममा अष्ट्रेलियामा अत्यन्त आक्रामक रुपमा खेल क्षेत्रमा लोकप्रिय थिए ।
चर्चित व्याड्सम्यान डिनले खेल जीवनपछि लामो समय विभिन्न देशमा प्रशिक्षक र कमेन्टेटरका रुपमा क्रिकेट क्षेत्रमा योगदान पुर्याएका थिए । डिन अफगानिस्तान क्रिकेट टिमको अन्तरीम प्रशिक्षक थिए भने पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडको मुख्य प्रशिक्षक समेत भएका थिए ।