एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति (मंगलबार) भएको खेलमा बार्सिलोनाले सहज जित निकालेको छ ।
बार्सिलोनाले लेगानेसमाथि २–० को जित निकालेको हो ।
बार्साको जितको लागि लियोनल मेस्सी र अंशु फातीले गोल गरे ।
जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग पाँच अंकको अग्रता लिन सफल भएको छ ।
खेलको ४२ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
मेस्सीले खेलको ६९ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । मेस्सीले पेनाल्टीमार्फत गोल गरेका हुन् । उनले बार्सिलोनाका लागि २१ औं लिग गोल पुरा गरे ।
यसैबीच, फातीले यस सिजन बार्सिलोनाका लागि पाँच गोल गरिसकेका छन् । उनी बार्सिलोनाको फुटबल इतिहासमा सबैभन्दा कम उमेरमा डेब्यू खेलमा गोल गर्ने खेलाडी हुन् ।
उनले १६ बर्ष २ सय ९८ दिनमा रियल बेटिसलाई ५–२ ले हराउने क्रममा बार्सिलोनाबाट गोल गरेका थिए ।
उनी ६ बर्षको उमेरमा परिवार सहित स्पेन गएका थिए । उनी सन् २०१२ देखि बार्सिलोनाको युवा एकेडेमीमा रहँदै आएका छन् ।
फातीले गोल गरेलगत्तै बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यानले समेत गोल गरेका थिए । तर भारका कारण रेफ्रीले गोललाई मान्यता दिएनन् ।
रेफ्रीलाई अपशब्द प्रयोग गरेपछि लेगानेसका प्रशिक्षक जाभियर एगुईरेले रातो कार्ड (रेड कार्ड) पाएका थिए ।
शीर्ष स्थानको बार्सिलोनाको ६४ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको ५९ अंक छ । तालिकाको पुछारमा रहेको लेगानेसको २३ अंक छ ।