बैशाख १७, २०८१, सोमबार
               

४० प्रतिशतले घट्यो खेलकुदको बजेट

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमा भारी कटौती गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको बजेटमा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

चालु आर्थिक वर्षमा मन्त्रालयका लागि ३ अर्ब ९९ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयको बजेट चालु आर्थिक वर्षको भन्दा १ अर्ब ६० करोड रुपैयाँ कटौती भएको हो । यो चालु वर्षको तुलनामा ४० प्रतिशतभन्दा कम हो ।

तर युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले भने बजेट उत्साहजनक भएको बताएका छन् । ‘छलफलको क्रममा १ अर्ब ६१ करोड रुपैयाँ भन्ने थियो अहिले बढेर आएको छ । बजेटमा खेलकुदलाई प्राथमिकतामा राखिने भनिएको छ । भौतिक पूर्वाधार निर्माणका लागि सरकारबाट सधैँ सहयोग नै हुँदै आएको छ,’ सचिव थपलियाले भने ।

उनले कार्यान्वयनमा जाँदा रकम नपुग भएमा सरकारबाट थपिँदै आएको उदाहरण दिँदै आशावादी हुनुपर्ने बताए । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा सरकारले बजेट पटकपटक थपेको उनले जनाए ।

बजेटमा यस्तो भनिएको छ खेल क्षेत्रबारे

 

खेलकुदमार्फत मुलुकको पहिचान र प्रतिष्ठाको लागि खेलकुद क्षेत्रको समग्र विकास अघि बढाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा खेलकुद पूर्वाधारको निर्माण, प्रतियोगिता आयोजना र प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिनेछ ।

निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा अन्य क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसरको निर्माण एवम् अन्य प्रादेशिक रंगशाला निर्माण सुरु गर्न आवश्यक रकम विनियोजन गरेको छु । सबै स्थानीय तहमा खेलग्रामको विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय पूर्वाधार निर्माण र व्यवस्थापनका लागि रकम विनियोजन गरेको छु । खेलकुद पूर्वाधारको कमी भएको कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुन सक्ने गरी खेलकुद पूर्वाधार विकास गर्न, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न र थप कभर्ड हल निर्माण गर्न बजेट व्यवस्था गरेको छु । युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन गरेको छु ।


कस्तो लाग्यो ?

यो पनि