जेठ ०४, २०८१, शुक्रबार
               

सागका पदकधारीले पाउन थाले पुरस्कार

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदकधारी खेलाडीले नेपाल सरकारले घोषण गरेको पुरस्कार पाउन  थालेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले चैत मसान्तभित्र सागमा जित्न सफल भएका सबै ४ सय ३५ खेलाडीलाई खातामा रकम जम्मा गर्ने बताएका थिए । तर वैशाख पहिलो सातादेखि खेलाडीले घोषित पुरस्कार पाउन थालेका हुन् ।

बुधबार तेक्वान्दोतर्फ पेयर पुम्से जोडीमा पदक जित्न सफल सन्जीव कुमार ओझाले आफ्नो खातामा रकम जम्मा भएको बताएका छन् । “खातामा पैसा आएको होला भन्ने विश्वासै लागेन”, हाल कास्कीको पोखरामा रहेका सञ्जिवले भने, “पुरस्कारबापतको रकम मेरो खातामा मात्र आएको रहेछ ।”  उनले गत मंसिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकूलद (साग) मा तेक्वान्दोतर्फ पेयर पुम्सेमा आयशा शाक्यसँग मिलेर नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

साग सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पदक जित्ने खेलाडीका लागि हालसम्मकै ठूलो रकमको घोषणा गरेका थिए । अरु खेलाडीले भने रकम पाउन सकेका छैनन् । “मसँगै मिलेर स्वर्ण जितेकी आयशा शाक्यलाई फोन गरे, उहाँले रकम पाउनु भएको रहेनछ”, नेपाली सेनामा कार्यरत हवल्दार सञ्जिवले भने, “पुरस्कार रकम प्राप्त गर्ने म मात्र रहेछु, अरुलाई सायद अब आउला ।” कोरोना भाइरसको संक्रमणका बेला पुरस्कार रकम पाउने आफूले आश नगरेको उनले बताए । “यस्तो आपतका बेला पैसो पाइला भन्ने पटक्कै विश्वास थिएन”, उनले खुशी व्यक्त गर्दै भने, “पुरस्कार पाउँदा शान्ति सेना (शान्ति मिसन) बाट फर्के जस्तै लागेको छ ।” उनलाई साथिहरूले शान्ति सेनाबाट आएको जस्तो यतै भयो भन्दै जिस्क्याए पनि । सञ्जिवले हालसम्म सेनाबाट शान्ति मिसनमा जान भने पाएका छैनन् ।

तेह्रौँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक गरी कूल २०६ पदक जितेको थियो । यो नेपालका लागि अहिलेसम्मकै सर्वाधिक सफलता थियो । उक्त सफलतापछि प्रधानमन्त्री ओलीले सबैलाई डाकेर प्रधानमन्त्री कार्यालय बालुवाटारमा पुरस्कार रकमको घोषणा गर्नुभएको थियो । विभिन्न व्यवधानले सो रकम खेलाडी तथा प्रशिक्षकले प्राप्त गर्न सकेका थिएनन् ।

    राष्ट्रिय टोली तयारी समितिका निर्देशक तथा १३औँ साग राष्ट्रिय टोली तयारी समितिका सचिव महेन्द्र राईले सागमा पदक प्राप्त सबै खेलाडीको विवरण र पाउनुपर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यलय (कोलेनिका) मा पठाइसकेको जानकारी दिए । चाँडै अन्य खेलाडी तथा प्रशिक्षकले पुरस्कार रकम पाउने उनले बताए । 

तेह्रौँ साग गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना गरिएको थियो । प्रधानमन्त्री ओलीले व्यक्तिगत स्पर्धामा स्वर्णपदक जित्नेलाई जनही नौ लाख, रजत जित्नेले छ लाख र कास्य जित्नेले तीन लाख, एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार दिने घोषणा गरेका थिए । समूहगत रुपमा स्वर्ण जित्ने खेलाडीलाई छ लाख, रजत जित्नेलाई चार लाख तथा कास्य जित्नेलाई दुई लाख दिने घोषणा गरिएको थियो । 

 

यो पनि