एजेन्सी । स्पेनिस एल क्लासिको फुटबलमा फुटबल क्लब बार्सिलोना रियल मड्रिडसँग पराजित भएको छ ।
आइतबार राति रियलले घरेलु मैदानमा बार्सिलोनालाई २–० ले पराजित गरेको हो ।
खेलको दोस्रो हाफमा भिनिसियस जुनियरले प्रहार गरेको बल डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लागेर गोल भएको थियो ।
यस्तै, इन्जुरी समयमा बेन्चबाट (बैकल्पिक खेलाडीको रुपमा) मैदान छिरेका मारियानो स्ट्रकले गोल गर्दै रियललाई २–० को जित सुनिश्चित गरे ।
जितसँगै एल क्लासिकोमा रियल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलको ५६ अंक छ । बार्सिलोना ५५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
बार्सिलोनको तर्फबाट पहिलो हाफमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलका राम्रा अवसर गुमाएका थिए । रियलका गोलकिपरले दुवैको प्रयासलाई असफल बनाइदिएका थिए ।
एल क्लासिकोको जितले प्रशिक्षक जिनेदिन जिदानलाई राहत दिएको छ । पछिल्ला दुई लिग खेलमा रियलले मात्र एक अंक बटुलेको थियो ।
पछिल्लो हप्ता च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटीसँग घरेलु मैदानमा पराजित भएपछि प्रशिक्षक जिदान दबाबमा थिए ।