जेठ ०३, २०८१, बिहीबार
               

आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

नेपाल फ्ल्यास
असोज ११, २०८०

ADVERTISEMENT

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।


भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहिआएको छ । 

हरेक वर्ष भदौशुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलीखेल, दोलखालगायत ठाउँमा मनाउने गरिन्छ । 


भदौशुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

इन्द्रजात्रामा राष्ट्रपतिबाट हनुमानढोकामा रहेको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्राको अवलोकन गर्ने परम्परा छ । जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्र जात्राका अवसरमा आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि