बैशाख २५, २०८१, मंगलबार
               

मलङ्गवाको निषेधाज्ञा राति मात्र

नेपाल फ्ल्यास
असोज ०८, २०८०

ADVERTISEMENT

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ भने रातिलाई यथावत् राखिएको छ ।


गणेश चतुर्थीको मूर्ति विर्सजन गर्न जाने क्रममा मलङ्गवामा दुई समुदायबीच झडप भएपछि गएको बिहीवार राति १० बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि मलङ्गवामा निषेधाज्ञा जारी गरिएको थियो ।

सर्लाही जिल्ला प्रशासन कार्यालयमा आज सोमवार बिहान बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीवार राति १० बजेदेखि लगाएको निषेधाज्ञा दिउँसोको समयमा हटाउने तर, राति ८ बजेदेखि बिहान ४ बजेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बिहीवार रातिदेखि अशान्त बनेको मलङ्गवामा गए रातिदेखि अवस्था समान्य हुँदै गएपछि आजदेखि दिनको निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

दिनमा निषेधाज्ञा आदेश निष्क्रिय गरिए पनि सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साविक मलङ्गवा नगर क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, बैठक, प्रदर्शन, पोस्टर पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको प्रजिअ यादवले जानकारी दिए । 

आज निषेधाज्ञा हटाइए पनि मलङ्गवाको बजार खुलेको छैन भने यातायात, शिक्षण संस्था, सरकारी कार्यालय पनि पूर्णरूपमा बन्द छन् । यता व्यापारीका सङ्घ–सङ्गठनले पनि बजार खोल्न आह्वान गरेका छन् । निषेधाज्ञा हुँदा पनि घटना हुन थालेपछि आइतवार दिउँसोदेखि स्थानीय प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको थियो । निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले अहिले पनि हिरासतमा राखेको छ ।


 


कस्तो लाग्यो ?

यो पनि