बैशाख २५, २०८१, मंगलबार
               

आज पनि शिक्षकहरु आन्दोलनमा
सामुदायिक विद्यालयका झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित

नेपाल फ्ल्यास
असोज ०४, २०८०

ADVERTISEMENT

काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आज पनि शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । आज दोस्रो दिन पनि माइतीघर मण्डलामा प्रदर्शन जारी छ । 

विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिएका छन् । यसले बिद्यालयमा पठनपाठन प्रभावित भएको छ ।  शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द हुँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

शिक्षाविद्लगायत सरोकारवालाहरुले बालबालिकाको पढ्न पाउने अधिकार वञ्चित नगर्न  र वार्तामार्फत् समस्याको समाधान खोज्न आग्रह गरेका छन् । शिक्षकहरुको आन्दोलनका कारण हिजो काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो ।

आज हिजोको जस्तो भद्रगोल नहोस् भन्नका लागि गृह र शिक्षा मन्त्रालयसँगै जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आन्दोलनरत नेपाल शिक्षक महासङ्घसँग बिहान छलफल गरेको छ ।

आन्दोलनका क्रममा निषेध गरिएका क्षेत्र नतोड्न र शान्ति कायम राख्न महासङ्घलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

नेपाल शिक्षक महसङ्घकी अध्यक्ष कमला तुलाधरले पनि बिहान शान्ति सुरक्षाका विषयमा मात्रै छलफल भएको बताइन । उनले सरकार प्रमुखसहित सरोकारवाला अन्य निकायसँग बसेर मात्रै वार्ता गर्ने बताइन । महासङ्घले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति जनाएको छ ।  जसमा सरुवा बढुवा, दरबन्दी, पालिकाअन्तर्गत हुन नहुनेसहितका माग छन् । 
 


कस्तो लाग्यो ?

यो पनि