बैशाख २६, २०८१, बुधबार
               

काठमाडौंमा आजदेखि द्रुत बस चल्ने
सूर्यविनायकदेखि रत्नपार्कसम्म ४५ मिनेटमा यात्रा गर्न सकिने

नेपाल फ्ल्यास
असोज ०३, २०८०

ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा आजदेखि द्रुत बस सेवा सञ्चालन हुँदैछ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था  विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गर्न लागेका हुन् । द्रुत बस सेवा सञ्चालका लागि तयारी पूरा भएको विभागको भनाइ छ । द्रुत बसको शुभारम्भ रत्नपार्कबाट हुनेछ । 

द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकमा डेडिकेटेड लेन छुट्याइएको छ । सडकमा रातो रङले डेडिकेटेड लेन नै छुट्याइएको छ । द्रुत बस सञ्चालन हुने समयमा अत्यावश्यकबाहेकका गाडी यो लेनमा प्रवेश गर्न नपाउने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताए ।  तर, एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस भने यो लेनमा चलाउन पाइने छ। 

अहिलेलाई पिक आवर बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सञ्चालन हुनेछ । आज दुई वटा बस सञ्चालन हुनेछ र भोलिदेखि बस थप गरी नियमित सञ्चालन हुने प्रवक्ता पनेरूले जानकारी दिए । ट्राफिक व्यवस्थापनका साथै यात्रुको  सुविधाका लागि द्रुत बस सञ्चालन गर्न लागिएको हो ।

रत्नपार्क–सूर्यविनायक  सडकमा नमुनाकारूपमा सञ्चालन गरिए पनि बिस्तारै द्रुत बस सेवा विस्तार गरिने विभागले जनाएको छ । द्रुत बस सेवा सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको  सहकार्यमा विभागले २५ वटा ठूला बसको व्यवस्थापन गरेको छ । विभागका अनुसार रातो बत्ती बलेका बेलामा पनि द्रुत बस रोकिने छैनन्  ।


कस्तो लाग्यो ?

यो पनि