बैशाख २६, २०८१, बुधबार
               

पितृप्रति श्रद्धा प्रकट: बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भिड

नेपाल फ्ल्यास
भदौ २८, २०८०

ADVERTISEMENT

काठमाडौं । दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहीवार बिहानैदेखि काठमाण्डौ उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया  (पितृ तीर्थ धाम) मा भक्तजनको भिड लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास छ ।

यही विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भिड लागेको हो । गोकर्णमा भक्तजनको भिडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी र बाग्मतीको कोरिडोर भएर गुड्ने गाडीलाई निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । सत्ययुगमा ब्रह्माले नै स्थापना गरेको स्थल भएकाले यहाँ आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि आज भाद्र कृष्णऔँसीका दिनमा यस मन्दिरमा भक्तजनको भिड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिए । 

गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिकरूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा गर्न सकिने जति राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाइएको बताउँछन् । भक्तपुर चाँगुनारायणबाट आउनुभएकी दर्शनार्थी जया खत्री गाडीको असुविधाले मेलामा दुःख पाइएको बताए । ‘मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर मात्र थाहा पाएँ’, उनले भने ।

मन्दिर क्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकोले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि जयाको गुनासो छ । नेपाल ट्रस्टको मातहतमा रहेको वन क्षेत्रभित्रको सडक खोलिदिएको भए पनि यो समस्या हुने थिएन तर, यसतर्फ पालिका र सङ्घीय दुवै सरकारले बेवास्ता गरेकामा उनले आपत्ति जनाए । 

मन्दिरको दक्षिण भागबाट बनेको सडक दक्षिणढोका निस्कने भए पनि त्यो पर्खालभित्र रहेको र नेपाली सेनाको सुरक्षा घेराभित्र यो क्षेत्र परेको छ । पर्खाल थोरै माथि सारेर सडक बाहिर पार्न गोकर्णेश्वर नगरपालिकाले आग्रह गर्दै आए पनि नेपाल ट्रस्टको कार्यालयले टेरेको छैन । शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको व्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाइएको धेरै भक्तजन बताउँछन् । यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भिड लाग्ने गरेकोे छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी पनि यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु काल्साङ लामाको भनाइ छ ।

बौद्धमार्गीले आजका दिन गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पितृको स्वरूपको दर्शन गर्न पाइने विश्वाससमेत रहेको उनले बताए । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ ।

आजैका दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कार्यका लागि आवश्यक कुश भित्र्याई कुशेऔँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मिठो मिठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि मनाइँदैछ । गोकर्णेश्वर मन्दिर क्षेत्रमा आज बेलुकीसम्म नै पितृका नाममा श्रद्धाभाव प्रकट गर्ने भक्तजनको भिड लाग्ने मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महत उल्लेख गर्छन । 

मेलाका लागि हिजो बुधवारदेखि नै दुई सय जना स्वयंसेवक खटाइएको पनि उनि बताउछन् । आज बेलुकीसम्म झन्डै पाँच लाख भक्तजनले मन्दिर क्षेत्रमा आएर पितृप्रति सम्मानभाव प्रकट गर्न सक्ने गरी व्यवस्थापन गराइएको पनि समितिले जनाएको छ । बिहान १० बजेसम्म झन्डै सवा दुई लाख भक्तजनले गोकर्णेश्वरबाट उत्तरगयासम्म बाग्मती किनारमा बसेर पितृप्रति सम्मानभाव प्रकट गरेको पनि अध्यक्ष महत उल्लेख गर्छन् । 
 


कस्तो लाग्यो ?

यो पनि