बैशाख १७, २०८१, सोमबार
               

नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ

नेपाल फ्ल्यास
भदौ २८, २०८०

ADVERTISEMENT

काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ बिहिवार अन्त्येष्टि गरिएको छ । नेम्वाङको आज बिहीवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

नेम्वाङको पार्थिव शरीरमा उनका जेठो छोरा मेङ्सो र कान्छो छोरा सुहाङले दागबत्ती दिएका थिए । दागबत्ती दिनुअघि नेपाली सेनाको टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो ।

नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान गरे । नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।

नेम्वाङको अन्त्येष्टिअघि शवयात्रा गरिएको थियो । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा गरेको हो । उनको निजी निवास बालुवाटारबाट शुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्‍याइएको थियो ।

गएको मङ्गलवार बिहान हृदयाघातबाट नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको थियो । सरकारले नेम्वाङको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि