बैशाख १७, २०८१, सोमबार
               

अस्ताए सुवासचन्द्र नेम्वाङ
राजनीतिमा ‘सुवास’ छरेका शालीन नेताको अकल्पनीय निधन

नेपाल फ्ल्यास
भदौ २६, २०८०

ADVERTISEMENT


काठमाडौं । नेपाली राजनीतिमा प्रखर, शालीन अनि सबैलाई मिलाएर जान सक्ने खुबी भएका संविधानसभाका अध्यक्ष, सांसद एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

गएराति १ बजे हृदयघात भएपछि उनलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । संविधान दिवस आउन एक हप्ता बाँकी रहँदा त्यही संविधान जारी गर्ने नेतृत्वकर्ता नेम्वाङको दुःखद निधन भएको छ । 

नेपालको संवैधानिक व्यवस्थाका लागि ऐतिहासिक जिम्मेवारी सम्हालेका नेम्वाङ दुईपटक संविधानसभा अध्यक्ष समेत भए । उनि सभामुख पनि बनिसकेका छन् । विक्रम संवत् २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा नेम्वाङको जन्म भएको थियो । कानुनमा स्नातक गरेका नेम्वाङले केही समय कानुन व्यवसायमा समेत समय बिताएका छन् । 

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुकातर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति भएका थिए । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा सङ्गठित भएका थिए । 

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित भए । 

एमालेको सातौँ महाधिवेशनमा उनि केन्द्रीय सदस्य निर्वाचित भए । २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य र  २०७८ सालमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बने ।  

विक्रम संवत् २०४८ र २०५२ सालमा नेम्वाङ राष्ट्रिय सभाको अध्यक्ष रहे । २०५२ सालमै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भए । २०५६ सालको संसदीय चुनावमा इलामबाट विजयी नेम्वाङ फेरि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री भए । २०५७ सालमा उनि संसद्को सार्वजनिक लेखा समितिको सभापति समेत भए । 

२०६३ सालको अन्तरिम संसदमा उनि सभामुख चयन भए । २०६४ मा भएको चुनावमा इलामबाटै निर्वाचित नेम्वाङ संविधानसभाको अध्यक्ष बने । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा चुनावपछि पनि उनि अध्यक्ष बने । २०७४ साल र २०७९ सालको आम चुनावमा नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । 

सरल र सालिन स्वभाव अनि भएका नेम्वाङ जीवनको अन्तिम क्षणमा कसैसँग बोल्नै नपाइ सधैँका लागि अस्ताए । देशको राजनीतिक परिवर्तन र संविधान निर्माणमा नेम्वाङको भूमिका मुलकले सदा सम्झिरहनेछ । नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ।
 


कस्तो लाग्यो ?

यो पनि