
काठमाडौं । मिदास टेक्नोलोजीसँगको सहकार्यमा कोशी अस्पतालले मोबाइल अस्पताल एप सञ्चालनमा ल्याएको छ ।
यो एपमार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट लिन सक्नेछन् । बिरामीले ओपिडी टिकट बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्ट पनि एपबाटै प्राप्त गर्ने सक्ने ब्यवस्था गरिएको छ । यसैगरी नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बीमा जानकारी राखेर प्रमाणीकरण गर्न सक्ने पनि उल्लेख छ ।
यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनुपर्ने झन्झटलाई कम गर्ने छ । यसले अस्पतालको सेवालाई समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ ।
दशकौँ लामो समयदेखि बिरामीहरूलाई सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एपमार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।