बैशाख २२, २०८१, शनिबार
               

बाढीबाट कागबेनीमा एक अर्ब रुपैयाँ बराबरको क्षति
बाढीले कृषकको ११ रोपनी तीन कट्ठाभन्दा बढी जमिनमा लगाएको स्याउलगायतका फलफूलको बोटमा नोक्सानी

नेपाल फ्ल्यास
भदौ १०, २०८०

ADVERTISEMENT


मुस्ताङ । गएको साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नगरे पनि एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार पारेको तथ्याङ्कलाई आधार मान्ने हो भने बाढीले कागबेनीमा झन्डै एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको हो ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले सयौँ स्थानीय आफन्तकोमा शरण लिएर बसेका छन् । बाढीले भौतिक संरचना, व्यवसाय र विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पुर्याएको छ भने स्याउ बगैँचा र सिँचाइ कुलो समेत बगाएको छ । 

बाढीले कृषकको ११ रोपनी तीन कट्ठाभन्दा बढी जमिनमा लगाएको स्याउलगायतका फलफूलको बोटमा क्षति पुर्याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामी बताउछन् । उनका अनुसार एक सय ६९ वटाभन्दा बढी स्याउको बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएको छ । 

बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुङ्गा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा क्षति पुगेको उनको भनाइ छ । करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिए । 

कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीनवटा कुलोमा पनि बाढीले नोक्सानी गरेको छ । उनका अनुसार ३६ रोपनी जग्गामा सिँचाइ गरिने कुलोसमेत बाढीले बगाएको छ । गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौवटा हाते ट्र्याक्टरसमेत बाढीले बगाएको धामीले बताए । बाढीले स्याउका बोट, बगैँचा, विभिन्न कृषि उकरण र सिँचाइ कुलो बगाउँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको धामीको भनाइ छ ।

बाढीले  पशुचौपाया बगाउँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशुशाखा प्रमुख समीक्षा कठायतले जानकारी दिए । बाढीले २३ वटा गोठ, ३२ लुलुगाई, दुईवटा खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताए ।  

बाढीले नगद, सामान र अन्य भौतिक संरचना बगाउँदा ८१ करोड ८३ लाख २५ रुपैयाँ बराबरको क्षति भएको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी  २१ करोड दुई लाख रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । ५० वटा घरमा क्षति पुर्याउँदा ५२ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । 

२२ वटा घर पूर्ण र पाँचवटा घरमा आंशिक क्षति भएको तथ्याङ्कमा उल्लेख छ । 
 


कस्तो लाग्यो ?

यो पनि