बैशाख २२, २०८१, शनिबार
               

आजको मौसम: बाग्मती, गण्डकी, कोशी र मधेस,प्रदेशका केही क्षेत्रमा बर्षा
तराईमा हावाहुरीकोे सम्भावना

नेपाल फ्ल्यास
भदौ १०, २०८०

ADVERTISEMENT

काठमाण्डौ । अहिले  बाग्मती, गण्डकी, कोशी र मधेस,प्रदेशका केही क्षेत्रमा बर्षा भइरहेको छ । पछिल्लो तीन घण्टादेखि यी क्षेत्रमा पानी परिरहेको छ । अहिले कोशी, मधेस र बाग्मती प्रदेशका धेरैजसो ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा रहेकाले नेपालमा बदली र वर्षा भइरहेको हो ।

यस्तै, बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक—दुई ठाउँमा सामान्य वर्षाको सम्भावना छ ।

आज मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति गण्डकी प्रदेशको केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने हुनाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ । 

यसैबीच, पछिल्लो १२ घण्टामा बाराको निजगढ, अमलेखगञ्ज, सर्लाहीको कर्मैया, सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार, धनकुटाको विभिन्न क्षेत्र, मकवानपुरको मकवानपुरगढी, कास्कीको लुम्ले र जुम्लेटी, पर्साको ठोरी, बाराको कलैया र परवानीपुर लगायतका क्षेत्रमा ठूलो पानी परेकाले ती क्षेत्र र आसपासका नदी तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि