बैशाख २२, २०८१, शनिबार
               

भरतपुर र माडी जोड्नका लागि चितवनको राप्ती नदीमा नयाँ पुल बन्ने

नेपाल फ्ल्यास
भदौ ०६, २०८०

ADVERTISEMENT

काठमाण्डौ – चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल बनाइने भएको छ ।  

भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ मा ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण हुने भएको हो । 

विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र न म्बर ३ का सांसद विक्रम पाण्डेले जानकारी दिए । 

सांसद विक्रम पाण्डेका अनुसार पुल निर्माणका लागि अहिले बजेटसमेत विनियोजन भएको छ । 

‘अहिले सर्भेलगायतका कामका लागि बजेट विनियोजन भएको छ,’ उनले भने, अब बहुवर्षीय योजना अन्तर्गत पुल निर्माणका लागि बजेट विनियोजन हुनेछ ।’

सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले सर्भेको काम सम्पन्न गरेर डिजाइनको काम गरिरहेको सांसद पाण्डेले बताए । 

चितवन राष्ट्रिय निकुञ्जको कसराबाट रिउसम्म ११ किलोमिटर सडक भने कच्ची नै रहेकोे छ । 

पुल निर्माण भएसँगै भरतपुर र माडी जोड्ने सडकको दूरी निकुञ्जमा मात्रै तीन दशमलव नौ किलोमिटर छोटो हुने उनको भनाइ छ । 

नयाँ पुल निर्माण भएपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षासँगै वन्यजन्तुलाई असर नपर्ने उनको भनाइ छ। पुल निर्माणसँगै निकुञ्जभित्रको सडक  कालोपत्रसमेत गरिने छ । 

‘अहिले कच्ची सडक हुँदा त्यस वरपरका बोटबिरुवा र वन्यजन्तुलाई समेत असर परेको छ,’ उनले भने, त्यसका लागि पनि यहाँ कालोपत्र गर्न जरुरी छ ।’

माडी जानका लागि कसरामा पुल निर्माण नहुँदासम्म ध्रुवघाटको बाटो प्रयोग हुने गरेको थियो ।

भरतपुर २३ का वडाध्यक्ष दीपक दबाडीका अनुसार ठोरीबाट रसुवासम्म नुन बोकेर जाने बाटो यही हो । 

पुल निर्माण भएसँगै भरतपुर माडी यात्राका लागि सहज हुने उनको भनाइ छ । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवघाटमा पुल निर्माणका लागि वन मन्त्रालयले स्वीकृति दिइसकेको जानकारी दिए  । 

उनले भने, पुल निर्माणका लागि २०७९ असोजमा मन्त्रालयले स्वीकृति दिएको हो, छिटै नै पुल निर्माणको कामले गति लिने बताए । 

निकुञ्जले वन्यजन्तुमैत्री पूर्वाधार बनाउनका लागि सुझावसमेत पेस गरेको भन्दै पुल निर्माण भए निकुञ्जलाई पनि फाइदा पुग्ने उनको भनाइ छ । 

‘अहिले कसरमा रहेको पुल जीर्ण अवस्थामा छ, पुल साँघुरो भएका कारण दोहोरो गाडी चलाउन मिल्दैन,’ उनले भने । 

हुलाकी सडकअन्तर्गत राप्तीमा एउटा पुल आवश्यक रहेको र त्यसमा पनि ध्रुवघाट उपयुक्त देखिएको सूचना अधिकारी तिवारीको भनाइ छ ।  
 


कस्तो लाग्यो ?

यो पनि