बैशाख २२, २०८१, शनिबार
               

प्याजमा कालोबजारी
भारतसँगकोे निर्भरताले उपभोक्ता महँगीको मारमा

नेपाल फ्ल्यास
भदौ ०४, २०८०

ADVERTISEMENT

काठमाण्डौ । प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने भारयि निर्णय लगत्तै नेपाली बजारमा त्यसको असर देखिन थालेको छ । यसअघि नै आयात भइसकेको प्याजको मूल्य समेत ब्यापारीले बढाएका छन् ।

शनिवार भारतले निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो । यतिबेलासम्म नेपाली बजारमा खुद्रा पसलमा  प्याज किलोको ५० देखि ६० रुपैयाँमा  पाइने गरेको थियो । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आज पनि प्याज किलोको ६० देखि ६२ रुपैयाँ थोक मूल्य छ । तर, भारतले कर लगाए लगत्तै खुद्रा पसलमा प्याजको मूल्य किलोको एक सय रुपैयाँ नाघिसकेको छ । 

पहिल्यै आयात भएको प्याजको मूल्य समेत बढाएर व्यापारीले मौकाको फाइदा उठाउँदै कालोबजारी गर्न भ्याएका छन् । प्याजलगायत तरकारी नेपालमै प्रशस्त उत्पादन हुने भए पनि बजार नपाउँदा खेती गर्ने परिपाटी नै हराउदै गएको छ ।  भारतसँगकोे निर्भरताले उपभोक्ताले महँगी सहनु परेको छ । 

प्याजमा आत्मनिर्भर हुन भन्दै केही वर्ष पहिले सरकारले प्याज मिसन कार्यक्रम समेत ल्याएको थियो । तर, त्यो प्रभावकारी हुन सकेन । प्याजलगायत तरकारीले बजार नपाउने गरेको किसानले गुनासो गर्दै आएका छन् । सिजनको समयमा भारतबाट सस्तोमा आयात हुँदा स्वदेशी उत्पादन खेर जान्छ । अहिलेको जस्तै अफसिजनमा आयात रोकिँदा नेपालमा महँगो हुन्छ ।

कृषि विज्ञले प्याज, गोलभेँडालगायत तरकारीमा आत्मनिर्भर हुन सकिने भन्दै किसानलाई प्रोत्साहन दिन आग्रह गर्दै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि