कात्तिक ०२, २०८१, शुक्रबार
               

विद्यालय पहिरोमा पुरिएपछि पठनपाठनमा समस्या
थापाठाना मावि फलेवास नगरपालिकामा नै धेरै विद्यार्थी भएको विद्यालय

नेपाल फ्ल्यास
साउन ३१, २०८०

ADVERTISEMENT

काठमाडौं । निरन्तरको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या आएको छ । फलेवास नगरपालिका–२ थापाठानामा रहेको थापाठाना माध्यमिक विद्यालयको दुई वटा भवन पहिरोले पुरिएका हुन् ।

विद्यालय रहेको ठाउभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन  पुरिएका हुन् । तीन कोठा पहिरोले पछि आठ वटा कोठामा जोखिमपूर्ण रुपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए । 

पहिलो पटक गत असार १६ गते पहिरोले भवनमा क्षति गरेको थियो । त्यही ठाउँमा साउन २२ गतेपछि गएको पहिरोले थप क्षति गरेको छ । पहिरोले विद्यालयको आँगनसमेत पुरिँदै गएको छ । ‘आठ कोठामा विद्यार्थी राख्न सकिने अवस्था छैन,’ उनले भने । जोखिमकैबीच  आधारभूत तहदेखि कक्षा आठसम्मको पठनपाठन भइरहेको छ । हाल विद्यालयमा दुई सय ४० जना विद्यार्थी अध्ययनरत रहेका छन् । 

‘जुनकुनै बेलामा पनि पहिरोले थप क्षति गर्न सक्ने अवस्था रहेको प्रअ शर्माले बताए । दुई—तीन वटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर अध्यापन गराउनु परेको उनको भनाइ छ । 

नौडाँडा–कार्कीनेटा–फलेवास–जैमुनी सडकको नवनिर्मित सडकको डिल भत्किएर तीन वटा कक्षाकोठामा क्षति भएको शिक्षक सन्तोष रिजालले जानकारी दिए ।  विद्यालयका आठ वटा कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई अस्थायी रूपमा एकै ठाउँमा राखेर अध्यापन गरिँदा उनीहरूको सिकाइ उपलब्धिमा असर देखिन थालेको छ । थापाठाना मावि फलेवास नगरपालिकामा नै धेरै विद्यार्थी भएको विद्यालय हो ।
 


कस्तो लाग्यो ?

यो पनि