कात्तिक ०२, २०८१, शुक्रबार
               

सडक अवरोधले मुस्ताङको कागबेनीका बाढी प्रभावितलाई राहत लैजान समस्या

नेपाल फ्ल्यास
साउन ३०, २०८०

ADVERTISEMENT

काठमाडौं । मुस्ताङको कागबेनीका बाढी प्रभावितलाई राहत लैजान समस्या भएको छ । पहिरोले सडक भत्किएको तथा हवाई मार्गबाट ढुवानी हुन नसक्दा प्रभावितलाई आवश्यक खाद्यान्न, लत्ताकपडा पुर्याउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । 

कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अहिले बन्द रहेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका(२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामका लागि साउन मसान्तसम्म यो सडक बन्द गरिएको छ । 

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडक बन्द हुँदा बाढी प्रभावितलाई राहत पुर्याउन समस्या भएको हो । उनले यो सडक तत्काल खुलाउन सके मात्रै राहत लैजान सहज हुने बताए । 

हिजो बाढीले क्षति पुर्याएको भौतिक संरचनाको प्रारम्भिक विवरण सङ्कलन र प्रभावितको व्यवस्थापनको काम गरिएको छ । प्रमुख जिल्ला अधिकारी केसीले बाढीले गरेको क्षतिको विवरण सङ्कलनका साथै घरबास गुमाएकालाई आफन्त कहाँ, गाउँपालिका कार्यालय र सामुदायिक भवनमा बसोबासको व्यवस्था मिलाइएको जानकारी दिए । स्थानीय वासिन्दा र मजदुरलाई खानेबस्ने व्यवस्था घरपझोङ र बारागुङ गाउँपालिकाले गर्दै आएको छ । 

जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय, सुरक्षा निकाय र गाउँपालिकाले आइतवार राति आएको बाढीले पुर्याएको भौतिक संरचनाको क्षति विवरण सङ्कलन र घरबास गुमाएकालाई सुरक्षित ठाउँमा व्यवस्थापन गरेका हुन् । गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले २९ वटा घर र नौ वटा गोठमा बाढीले पूर्णरूपमा क्षति गरेको जानकारी दिए । 

पूर्वसूचनाका कारण स्थानीयले ज्यान जोगाएको अध्यक्ष गुरुङको भनाइ छ । कागखोलामा तीन वटा पक्की, एउटा झोलुङ्गे र एउटा काठको पुल क्षति भएको छ । जोमसोम–कोरला सडकअन्तर्गत कागखोलामा निर्माणाधीन मोटरेबल पुलको स्पाम बगाउँदा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासँग यातायात सम्पर्कविच्छेद भएको छ।
 


कस्तो लाग्यो ?

यो पनि