भदौ २३, २०८१, आइतबार
               

महिना दिनमै उप्कियो कालोपत्र
आर्थिक वर्षको अन्त्यमा हुने विकास निर्माणका काममा गुणस्तरको समस्या

नेपाल फ्ल्यास
साउन २९, २०८०

ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिका–९ सहारा टोलमा गएको असारको अन्तिमतिर निकै हतारका साथ गरिएको कालोपत्र महिना दिन नपुग्दै उप्किएको छ । पृथ्वी राजमार्गबाट ट्राफिक कार्यालय हुँदै नयाँ बजार निस्कने सडक भत्कन शुरु भएको हो ।  

कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । स्थानीय बेलकुमारी रानाभाटले कालोपत्र भत्केपछि सवारी र पैदल यात्रुलाई आउजाउ गर्न असहज भएको बताइन् । ‘एक महिना पनि कालोपत्र टिकेन, खाल्डाखुल्डी परेर पानी जमेको छ’, उनले भनिन, ‘यस्तो गुणस्तरहीन काम गर्नेलाई कारबाही गर्नुपर्छ ।’

रानाभाटले कालोपत्रको सतह नमिल्दा वर्षाको पानी घरभित्र छिर्ने गरेको बताइन । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको १० लाख रुपैयाँ बजेटबाट ८० मिटर सडक कालोपत्र गरिएको थियो । 

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सडक कालोपत्र गर्दा प्राविधिक अनुगमन नपुगेको बताए । ‘वर्षाका बेला हतारहतार कालोपत्र गर्दा हुने नै यही हो, असारे विकासको प्रवृत्ति बेठिक छ’, उनले भने, ‘निर्माणमा बदमासी भएको देखिन्छ, यसमा सम्बन्धित मन्त्रालयको ध्यान पुगोस् ।’ उपभोक्ता समिति बनाएर सडक कालोपत्र गरिएको थियो । निर्माणको भुक्तानी पनि भइसकेको छ ।

पूर्वाधार विकास कार्यालय कास्कीका सूचना अधिकारी इन्जिनियर अनुप थापाले वर्षाका कारण कालोपत्र सेट हुन नसकेको बताउछन् । ‘निर्माणका क्रममा अनुगमन गर्दा लापर्बाही भएको देखिएको थिएन, यो विषयमा उपभोक्ता समिति र निर्माण व्यवसायीलाई राखेर कुरा गर्छौँ’, उनि भन्छन्, ‘कमजोरी गरेको भेटिएमा कारबाही प्रक्रिया अगाडि बढ्छ ।’ 

सूचना अधिकारी थापाले वर्षा कम भएपछि सडक मर्मतको काम गरिने बताए । उनले आर्थिक वर्षको अन्त्यमा हुने विकास निर्माणका काममा गुणस्तरको समस्या देखिने गरेको उल्लेख गरे । ‘समय कम हुन्छ, निर्माण व्यवसायीले पनि हतारहतार काम गर्छन्, प्रभावकारी अनुगमन पनि हुँदैन’, उनले भने 


कस्तो लाग्यो ?

यो पनि