भदौ २३, २०८१, आइतबार
               

काठमाण्डौ—हेटौँडा सडक खण्डमा पहिरो
छोटो दूरीका सबै सडक अवरुद्ध

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT

मकवानपुर । हेटौँडाबाट काठमाण्डौ जाने छोटो दूरीका सबै सडक पहिरोका कारण बन्द भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा—भैँसे —भीमफेदी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको हो । 

भीमफेदी—२ भैँसे बजारबाट दुई किलोमिटरको दूरीमा पहिरो खसेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी—सिस्नेरी—काठमाण्डौ सडक खण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका—३ भालुडाँडामा रहेको कुलेखानी सिस्नेरी काठमाण्डौ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी—९ लामीडाँडा क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ ।  

अविरल वर्षाका कारण पहिरो पन्छाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए । त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका—११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हेटौँडा—काठमाण्डौ जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

भारी वर्षाका कारण हेटौँडा—४ हुँदै बग्ने कर्रा खोला बस्तीमा पसेको छ । गर्दोही क्षेत्रमा रहेका केही घर डुबानमा परेको प्रहरीले जनाएको छ । खोलामा पानीको बहाव बढ्नेक्रममा रहेकाले यस क्षेत्रमा सुरक्षित ठाउँमा जान प्रहरीले जानकारी गराएको छ । विगतमा पनि भारी वर्षातको बेला यो क्षेत्र डुवानमा पर्दै आएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि