बैशाख २०, २०८१, बिहीबार
               

कैलालीको टीकापुरमा कर्णाली नदीको जोखिम उच्च: सतर्कता अपनाउन आग्रह
बस्ती जोगाउन जैविक तटबन्ध गरिने

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT

कैलाली । कर्णाली नदिले कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक जमिन कटान गर्न थालेको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान गरेकाले बस्तीमा जोखीम उच्च बन्दै गएको छ । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ ।

नदी कटान तीव्र भएपछि शनिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टलगायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको थियो । नदी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने मुख्यमन्त्री शाहले बताए । 

हजारौँ बिघाहा धानबाली नष्ट हुने खतरा र नदी बस्तीमा पसेमा हजारौँ परिवार प्रभावित हुनेभएपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने भएको छ । टीकापुर नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय गरेको हो । 

नदी कटान तीव्र हुँदा सिँचाइ आयोजनाले कर्णाली नदीका केही ठाउँमा बिग बोल्डर (ठूला ढुङ्गा) सहितको तटबन्धका लागि ठेक्का दिएको थियो । आयोजनाले जानकी गाउँपालिकाको खैरीफाँटा, टीकापुर नगरपालिकाको वडा नं ५ पार्क क्षेत्र, दौलतपुर र वडा नं ८ को वनगाउँमा बिग बोल्डर राखेर तटबन्ध गर्न गएको चैत महिनामा सम्झौता गरेको थियो । खैरीफाँटामा गाल्वा निर्माण सेवाले काम थाले पनि पार्क क्षेत्रमा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले समयमा काम नगर्दा बस्ती जोखिममा परेको हो ।

नदी तटबन्ध भत्काएमा टीकापुर पार्कको पहिचान समेत समाप्त हुनेछ । आयोजनाले टीकापुर पार्क क्षेत्रमा चैतमा ठेक्का लिएको निर्माण कम्पनी मस्ट्रा विल्डर्स धनगढीलाई पटक–पटक बोलाउँदा पनि तटबन्धको काम नगर्दा अहिले बस्ती उच्च जोखिममा रहेको आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठले जानकारी दिए । उनले जोखिम बढेकाले चैतमै ठेक्का गरेको र निर्माण कम्पनीले नटेर्दा यो समस्या निम्तिएको बताए । 

नदीले धार परिवर्तन गरेकाले विगतमा भएका तटबन्ध नदीले रोक्न नसक्ने भएकाले आयोजनाले आजभोलि बिग बोल्डरसहित तटबन्ध गर्न थालेको छ । पालिकाको मनोमानी नदी उत्खननले पनि जोखिम बढाएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शनिवारदेखि आउँदो तीन दिन भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदीको पार्क क्षेत्र, दौलतपुरमा जोखिम बढेको छ । पार्क क्षेत्रमा टीकापुर नगरपालिकाले सिँचाइ आयोजनाको सहयोगमा स्थानीय वासिन्दा, नेपालप्रहरी, नेपाल रेडक्रस सोसाइटी, राजनीतिक दलका कार्यकर्ता, बरघर, कुला समितिका उपभोक्ताको सहयोगमा तटबन्ध गर्ने भएको छ ।

तटबन्धका लागि आवश्यक बोरालगायतका सामग्री सिँचाइ आयोजनाले सहयोग गर्ने, झालापाता, बाँस सामुदायिक वनबाट सहयोग लिने, प्राविधिक जनशक्ति जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गर्ने टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले जानकारी दिए । 

जानकी गाउँपालिका वडा नं ९ मा रहेको पूर्वी खैरीफाँटा तथा शिवशक्ति सामुदायिक वन नजिक कर्णाली नदी कटान भइरहेकाले टीकापुर नगरपालिका वडा नं १, २, ३, ६ र ७ बाढीबाट क्षतिको जोखिम बढेको छ । पालिकाले यो ठाउँमा नदी व्यवस्थापनका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना र जानकी गाउँपालिकालाई आग्रह गरेको छ । जैविक तटबन्धको प्रयासपछि पनि कटान नियन्त्रण नभएमा टीकापुरका नागरिकलाई उद्धार गर्न पालिकासँग उद्धारका सामग्री पर्याप्त मात्रामा नरहेकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग इन्जिनबोट माग गरिएको छ । 

पालिकाले नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै ‘साइरन’ बजाउने, मोबाइलमा ‘म्यासेज’ गर्नेलगायतका काम पनि अघि सारेको छ । वर्षा निरन्तर भइरहेकाले आवश्यक कागजात सुरक्षित गर्न, जोखिममा रहेका नागरिक गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई सुरक्षित तथा तयारी अवस्थामा राख्न आग्रह गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीको भनाइ छ । 

यसअघि साउन २२ गतेदेखि आएको अविरल वर्षाका कारण टीकापुर नगरपालिका वडा नं ६ र ७ का तीन सय ८१ घरधुरी बाढीबाट प्रभावित भएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि