बैशाख २०, २०८१, बिहीबार
               

स्थानीयलाई आयआर्जनसँग जोड्दै नरिवल खेतीमा मनहरि गाउँपालिका

नेपाल फ्ल्यास
साउन १९, २०८०

ADVERTISEMENT

काठमाडौं । मनहरि गाउँपालिका मकवानपुरले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेतीको सुरुवात गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाको संयुक्त पहलमा मनहरि–४ वनकरिया खेलमैदान नजिकै एक हजार तीन सय ६० वटा नरिवलको बिरुवा रोपिएको हो ।  

स्थानीयलाई आयआर्जनसँग जोड्दै नरिवल खेती शुरु गरेको  गाउँपालिकाकाले नदीउकास क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्न, वातावरण हरियाली बनाउन पनि यो अभियान प्रभावकारी हुने बताएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०—८१ को नीति तथा कार्यक्रममा वन, वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा सामुदायिक वन तथा डिभिजन वनको सहयोगमा नदी उकासपर्ती जमिनमा आर्यआर्जन गर्ने गरी नरिवलको बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

गाउँपालिका अध्यक्ष रंजन कालाखेतीले नरिवल रोपेर नदीउकास जमिनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र आयआर्जनमा जोड्न सहयोग पुग्ने विश्वास लिएको बताए । मनहरि–४ को तीन लाख रुपैयाँ बजेटमा झन्डै दुई बिघाहा १० कट्ठा सार्वजनिक जग्गामा नरिवल खेती गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको छ लाख ५० हजार रुपैयाँमा तारजाली, घेराबार र खेतीको संरक्षण गर्न दुई जना कर्मचारी नियुक्त गरेर संरक्षणको जिम्मा दिइएको छ । मनहरि–७ मा लिची र अम्बा तथा वडा नम्बर ८ मा एभोकाडोको बिरुवा रोप्ने तयारी रहेको पनि उनले जानकारी दिए । 

नदीउकास जग्गा अतिक्रमणमा पर्ने सम्भावना बढ्दै गएपछि संरक्षणसँगै वडा र गाउँपालिकाको आयआर्जनका लागि स्रोत बढाउने लक्ष्यसहित नरिवल खेती शुरु गरिएको वडा नम्बर ४ का अध्यक्ष प्रकाश थापाले बताए । 


कस्तो लाग्यो ?

यो पनि