बैशाख २०, २०८१, बिहीबार
               

बढ्दै आपराधिक घटना, बढी आपराधिक घटना काठमाडौमा

नेपाल फ्ल्यास
साउन १७, २०८०

ADVERTISEMENT

काठमाडौ । पछिल्लो समय नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका हुन् । 

गएको आर्थिक वर्ष २०७९—८० मा ५६ हजार तीन सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामध्ये ३३ हजार ६३ वटा घटनाको फर्छ्योट भएको छ भने २३ हजार बढी मुद्दा फर्छ्योट हुन बाँकी नै रहेका छन् । त्यसको अघिल्लो आव २०७८—७९ मा भने ४६ हजार नौ सय दुई वटा घटना दर्ता भएका थिए ।

प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक ९डीआईजी० कुबेर कडायतले घटना उजुरी दर्ताका हिसाबले अघिल्लो आवभन्दा गएको आवमा बढेको बताए । 

उनका अनुसार सबैभन्दा बढी काठमाण्डौ उपत्यकामा १६ हजार बढी घटना दर्ता भएको छ । त्यसपछि मधेस प्रदशेमा नौ हजार बढी र कोशी प्रदेशमा आठ हजार बढी घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार सीआईबीमा ४३, काठमाण्डौ उपत्यकामा १६ हजार छ सय २७, कोशी प्रदेशमा आठ हजार सात सय २०, मधेस प्रदेशमा नौ हजार आठ सय ४४, बाग्मती प्रदेशमा चार हजार छ सय ७९, गण्डकी प्रदेशमा चार हजार एक सय ७७, लुम्बिनी प्रदेशमा छ हजार नौ सय ९७, कर्णाली प्रदेशमा एक हजार सात सय २९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय तीन उजुरी दर्ता भएका छन् । 

प्रवक्ता कडायतका अनुसार अन्य घटना खास त्यसरी बढेका छैनन्, जघन्य अपराध पनि बढेको छैन, बैंकिङ कसुर, साइबरजन्य अपराध भने बढेको छ । पैसा नभएको बैंकको चेक दिएर ठगी गर्ने गरेकोमा उजुरी परेको सङ्ख्या निकै बढेको छ । 

प्रहरीको विवरणअनुसार बैंकिङ कसुरका मात्रै १२ हजार एक सय ३५ घटना दर्ता भएका छन् । यस्तै ज्यानसम्बन्धीका कसुर नै आठ हजार बढीका दर्ता भएका छन् । झन्डै सात हजार आत्महत्याका घटना भएका छन् । चोरीसम्बन्धी घटना नै तीन हजार छ सयभन्दा बढी भएको छ भने छ हजार बढी सङ्गठित तथा आर्थिक अपराधका छन् ।

त्यसैगरी ११ हजार बढी सामाजिक अपराधका घटना भएको छ । महिला तथा बालबालिकासम्बन्धी चार हजार बढी अपराध भएको तथा सवारीसम्बन्धी दुई हजार घटना भएको प्रहरीको अभिलेखमा उल्लेख रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि