बैशाख २०, २०८१, बिहीबार
               

विद्यालय बन्द गर्दै डेङ्गी नियन्त्रणको अभियानमा धरान

नेपाल फ्ल्यास
साउन १७, २०८०

ADVERTISEMENT

काठमाडौं । डेङ्गी नियन्त्रणका लागि सुनसरीको धरान उपमहानगरपालिका भित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले म‌गलवार यस्तो निर्णय गरेको हो ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गी नियन्त्रण अभियान चलाउने निर्णय गरेको जानकारी दिए ।  उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गी नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन पनि अनुरोध गरेको छ ।

डेङ्गी फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको भनाइ छ । वडा समिति कार्यालयले आ–आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेङ्गु नियन्त्रण हुने नदेखिएकले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताए । 

धरानमा डेङ्गीबाट जेठ तेस्रो हप्तायता एक बालिकासहित आठ जनाको ज्यान गइसकेको छ । निजी क्लिनिक, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आदिमा डेङ्गीका बिरामीले शय्या पाउन अहिले मुश्किल भएको छ । साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेङ्गी पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताको भनाइ छ । 
 


कस्तो लाग्यो ?

यो पनि