बैशाख २०, २०८१, बिहीबार
               

म्याग्दीमा २० प्रतिशत खेत अझै बाझै
वर्षा नहुनु, सिँचाइ सुविधाको अभाव र गोरुमा लम्पीस्किन रोगको प्रभाव

नेपाल फ्ल्यास
साउन १६, २०८०

ADVERTISEMENT

म्याग्दी । प्रयाप्त बर्षाको अभावमा यसवर्ष र गोरुमा लम्पीस्किन रोग लागेका कारण म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । वर्षा नहुनु, सिँचाइ सुविधाको अभाव र गोरुमा लम्पीस्किन रोगको प्रकोप फैलिएपछि साउनको दोस्रो हप्तासम्म म्याग्दी जिल्लाभर जम्मा ८० प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको हो । यसपटक समयमै किसानहरुले रोपाइँ गर्नका लागि पर्याप्त पानी नपर्नु, सिँचाइ सुविधाको उपलब्धता नहुनु, गाउँघरमा काम गर्ने दक्ष जनशक्तिको अभाव हुनु र गोरुमा लम्पीस्किन रोग लागेको कारणले गर्दा रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । समयमै धान रोपाइँ गर्न नपाउँदा उत्पादन घट्ने भएकाले किसानहरु भने चिन्तित बनेका छन् । रोपाइँका लागि खासगरी जेठ र असार महिना उपयुक्त मानिन्छ । असारपछि रोपाइँ गरिए पनि उत्पादनमा भने कमी आउने गरेको किसान अनुभव सुनाउछन् । साउनको दोस्रो हप्तासम्म म्याग्दी जिल्लाको बेनी नगरपालिका क्षेत्रमा ७० प्रतिशत मात्रै धान रोपाइँ भएको छ भने मंगला गाउँपालिकामा ९० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिए । यसैगरी अन्नपूर्ण गाउँपालिकामा ९५ प्रतिशत, रघुगङ्गामा ८५ प्रतिशत, मालिकामा ९० र धवलागिरि गाउँपालिकामा ९५ प्रतिशत धान रोपाइँ भएको उनले जानकारी दिए । जिल्लामा बेनी नगरपालिका र मङ्गला गाउँपालिका क्षेत्रमा धेरै धान उत्पादन हुने गर्दछ । अहिले जिल्लाको माथिल्लो क्षेत्रमा रोपाइँ सकिएको भए पनि तल्लो तटीय क्षेत्रमा भने रोपाइँ भैरहेको किसानले बताएका छन् । यता गण्डकी प्रदेशभर अहिलेसम्म ८२ प्रतिशत भू–भागमा धान रोपाइँ सकिएको छ । गएको वर्ष यो समयसम्म आइपुग्दा गण्डकीमा ९६ प्रतिशत भू–भागमा रोपाइँ भएको थियो । गण्डकीमा १ लाख ४ हजार ६ सय २२ हेक्टर क्षेत्रफलको जमिनमा धान रोपाइँ गर्ने गरिन्छ । जसमध्ये अहिलेसम्म ८५ हजार ७ सय ९० हेक्टर क्षेत्रफलको जमिनमा मात्रै धान रोपाइँ भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि