बैशाख २०, २०८१, बिहीबार
               

मलको अभाव छैन: कृषिमन्त्री
सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात

नेपाल फ्ल्यास
साउन १५, २०८०

ADVERTISEMENT

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् । 

सोमवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै मल अभाव नरहेको बताएका हुन् । उनले सङ्घीय सरकारले रासायनिक मल आयात गरेर वितरणको जिम्मा पालिकालाई दिए पनि उनीहरूले राम्रो काम गर्न नसकेको दाबी गरे । पालिकाले सिफारिस गरेर मल वितरणको जिम्मा पाएका सहकारी संस्थाले नै घोटला गरेको उनको आरोप छ । 

उनले भने, ‘दुई सय ८४ मेट्रिक टन रासायनिक मल सरकारसँग मौज्दात रहेको छ । कुन डिपोमा कति छ भन्ने समेत दिन सक्छौँ । अभाव छैन । सङ्घीय सरकारले मल आयात गर्ने मात्रै हो । वितरण गर्ने जिम्मा पालिकालाई दिएका छौँ । मल वितरणमा पालिकाले राम्रो भूमिका खेलेका छैनन् । पालिकाले मल वितरणका लागि सिफारिस गरेका सहकारीहरूले मलमा घोटला र कालोबजारी गरेका छन् । मलमा गडबडी गर्नेहरूलाई स्थानीय प्रसाशन लगाएर पक्राउ गरिएको पनि छ ।’

मन्त्री भुसालले काभ्रे, पाल्पा, इलाम,कपिलवस्तुलगायतका जिल्लाहरूमा मल वितरणमा बदमासी गर्नेहरूलाई कारबाही गरेको समेत बताए । सरकारले यो वर्ष ल्याउनुपर्ने सबै मल आइसकेको भन्दै २५ हजार मेट्रिक टन मल आउदै गरेको समेत बताए ।  

भुसालले समयमा मल आयात हुन नसकेर अभाव सिर्जना भएको भन्दै समयमा मल नआउनुको मुख्य कारण समयमा बजेट नपाउनु भएको उल्लेख गरे । उनले खरिद र ढुवानी प्रक्रियाका लागि लामो समय लाग्ने र बजेट नहुँदा समस्या हुने बताए । उनले मल कारखाना बनाउने विषयमा भने गम्भीर समिक्षा गर्नुपर्ने अवस्था रहेको समेत खुलासा गरे । 
 

यो पनि