बैशाख २०, २०८१, बिहीबार
               

यसरी बन्नेछ चक्रपथको दोस्रो खण्ड
सडकमा पानी नजम्ने गरि सडकको बीचमा डिभाइडर

नेपाल फ्ल्यास
साउन ११, २०८०

ADVERTISEMENT

काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडक खण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ विस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अन्डरपास र ओभरपासको सङ्ख्यालगायत फरक किसिमको हुने सडक विभागको भनाइ छ । 

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा. विजय जैसीका अनुसार पहिले मुख्य सडकको बीचमा डिभाइडर नभएकामा अहिले बीचमा डिभाइडर राख्न लागिएको छ । पहिलो खण्डमा मुख्य लेन र सहायक लेनको बीचमा मात्रै डिभाइडर रहेको थियो । उनले भने मुख्य सडकको बीचमा हुने डिभाइडरले नै दुवैतर्फको सडक छुट्टाउनेछ ।

पहिले बीचको चार लेनमध्ये दुई लेनबाट आउने, दुई लेनबाट जाने छेउछेउको लेनबाट पनि एकातर्फबाट आउने अर्को तर्फबाट जाने थियो । यो खण्डमा मुख्य लेन र सहायक लेनभन्दा पनि मुख्य सडकको बीचबाट दुई तर्फको लेन छट्टिनेछ । सडकमा पानी जम्न नदिनका लागि विशेष खालको लामो ड्रेन राख्न लागिएको प्रमुख डा. जैसीले बताए । चक्रपथको पहिलो खण्डमा ठाउँठाउँमा पानी जम्ने समस्या भएकामा त्यो समाधान गर्न लागिएको विभागले जनाएको छ । विभागले दुई तीन ठाउँका चोकमा अन्डरपास र ओभरपास लगायत संरचना निर्माणका लागि पहल गरेको छ । चोकमा हुने सडकको चाप व्यवस्थापन गर्न यी संरचनाका लागि अनुरोध गरिएको उनले बताए । प्रमुख डा. जैसीले भने, त्यो अनुरोध उनीहरूले मौखिक रूपमा स्वीकार गरेका छन् । के हुन्छ भन्ने विस्तृत डिजाइन आएपछि थाहा हुन्छ ।’

सन् २०१८ मा ऋण स्वीकार गर्दा नै एउटा खाका बनेको थियो । त्यो बेला अन्डरपास निर्माण गर्ने कुरा उल्लेख थिएन । पहिले नभएको नक्सा परिवर्तन गर्न गाह्रो हुने उल्लेख गर्दै उनले भने, भौतिक पूर्वाधारमन्त्री आफैँले पनि कोसिस गर्ने भनेका छन् ’

चक्रपथको पहिलो खण्डमा चिनियाँ कम्पनीले तीन वटा मात्रै आकाशे पुल बनाएको थियो । त्योमात्रै पर्याप्त नभएकाले सरकार आफैँले थप छ ठाउँमा आकाशे पुल निर्माण गरेको थियो । यो खण्डमा भने यात्रुले सडक पार गर्न के बनाउने भनी अध्ययन गरेर तय गरिने चिनिँया पक्षको योजना रहेको प्रमुख डा. जैसीले जानकारी दिए । उनले भने, ट्राफिक सर्वेक्षणअनुसार कहाँबाट मानिस हिँड्छन् भन्ने हेरेर गरिनेछ ।’

पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलङ्कीदेखि अगाडिसम्मको सडक निर्माण गर्न इच्छा देखाएको थियो । सडक निर्माणका क्रममा काम गर्ने ठाउँ खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो ।  

पाइपलाइन, बिजुलीका खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा काममा ढिलाइ भइरहेको थियो । चिनियाँ पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन । त्यही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेरमात्रै निर्माण शुरु गरिएको विभागले बताउँदै आएको छ । 

कोटेश्वर–कलङ्की सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो । सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुवैतर्फ सर्भिस ट्र्याक निर्माण गर्दा यो सडक १० लेनको बनेको थियो । 

चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाण्डौ गरी दुबै जिल्लामा परेको थियो । दोस्रो खण्ड भने काठमाण्डौमा मात्रै रहेको छ । 

चिनियाँ पक्षसँग पहिले चावहिल धोबीखोलासम्म सडक विस्तार गर्ने गरी छलफल भएको थियो । स्वयम्भू, महाराजगञ्जलगायत ठाउँमा निर्माण स्थल खाली गराउँदा विभिन्न अवरोध आएपछि कलङ्कीबाट बसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो ।
 


कस्तो लाग्यो ?

यो पनि