बैशाख २२, २०८१, शनिबार
               

अब कमला नदीमा काठको पुल
बर्खाकट्नेमा भने स्थानीयको शंका

नेपाल फ्ल्यास
साउन ०९, २०८०

ADVERTISEMENT

सिरहा । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा रहेको छ कमला नदी ।

भौगोलिक रूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम मानिने तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग । अझ भनौँ, मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीकोे राष्ट्रिय गौरवको आयोजना ।

झन् उदेकलाग्दो कुरा त १२ वर्षदेखि निर्माणाधीन कमलाको पुल अझै कहिले बन्ने हो कुनै अत्तोपत्तो छैन । बर्खायाममा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयलाई नातेदारसँग भेटघाट गर्न र आफूले गरेको खेतीपातीको गोडमेल तथा रेखदेख गर्नका लागि आवतजावत गर्न पुस्तौदेखि सास्ती खेपिरहनुपरेको छ ।

हुलाकी लोकमार्गअन्तर्गत सिरहाको बसपिट्टा र धनुषाको साघारासम्म एक किलोमिटरसम्म कमला नदी फैलिएको छ । नदीमा पुल समयमा नबन्दा सिरहा र धनुषाका कयौँ गाउँका नागरिक समस्यामा छन् । स्थानीय वासिन्दालाई आवतजावत गर्नलाई कि त पूर्वपश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करिब दुई घन्टा लामो यात्रा गर्नुपर्छ कि नदीमा जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्छ । त्यो पनि त्यति सहज छैन ।

यही समस्यालाई सम्बोधन गर्न सिरहा नगरपालिकाले अस्थायी प्रकृतिको बाँसको टेका लगाएर काठको पुल बनाएको छ । यो पुल आइतवारदेखि सञ्चालनमा आएको छ । यो पुलमा अब मोटरसाइकल तथा पैदलयात्री निःशुल्क यात्रा गर्न सक्नेछन् । तर, काठको पुलले यो बर्खायाम धान्नेमा भने स्थानीय संसय ब्यक्त गर्छन । लामो समयदेखि निर्माणाधीन पक्की पुल नबन्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो । काठको यति सामान्य पुल बन्दा पनि खुसी व्यक्त गर्नुपर्ने अवस्था छ र भनेर सथानीय प्रश्न गर्छन । 

सिरहा नगरपालिकासँग समन्वय गरी काठको पुल बनाउनका लागि पहल गर्नुहुने स्थानीय युवा रामचन्द्र यादव भन्छन् स्थानीय वासिन्दा र यस हुलाकी लोकमार्गमा आवतजावत गर्ने यात्रीलाई बर्खायाममा नदीमा बाढी आइ कठिनाइ हुने भएकाले आवतजावत गर्नलाई सहज होस् भनी नगरपालिकासँग पहल गरिएको हो । यसमा नगरपालिकाले पनि सकरात्मकरूपमा लिएर पुल बनाउने काम गरेको छ, जुन सराहनीय छ । यसले गर्दा यात्रुको समयको बचत तथा दूरीलाई छोटो बनाएको छ । दैनिक दुई सयभन्दा बढी मोटरसाइकल तथा हजारौँ पैदलयात्रीलाई सहज भएको छ ।

नदी पारिपट्टि आफ्नो खेतीपातीको हेरचाहमा जानलाई अब तत्काललाई भए पनि समस्या टरेको छ सुभकान्त यादवलाई । सिरहा नगरपालिका–६ स्थायी घर भएका उनलाई नदी वारपार गर्न मात्र सहज भएको छैन, कृषि उपजलाई बजारसम्म लैजान पनि सहज भएको छ । खेतीपाती गर्नका लागि नदीबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थियौँ । काठकै अस्थायी पुल भए पनि हामीलाई सहज भएको छ, उनले खुसी हुदै भने, अब पारिपट्टिको खेतबारीमै तरकारी तथा बालीनाली सडेर नजाने भयो ।

बाँसको पुल बनिसकेपछि सिरहा चोहर्वाका मोहम्मद साहिबलाई त्यही बाटो हुँदै धनुषाको कमला–४ मा रहेको ससुराली घर जानका लागि सहज भएको छ ।  यही काठकै पुल भए पनि ठूलो राहत मिलेको स्थानीयको भनाइ छ । 

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भासिएको थियो । विसं २०६८ सालमा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो, तर पटक–पटक म्याद थपेर करिब १० वर्ष लाग्यो । निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइ उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ साल असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो ।

यही अनिश्चितताका बीच निर्माण कम्पनीले आउँदो चैत मसान्तसम्म भासिएको पुल पुनःनिर्माण गर्ने गरी पुनः काम शुरु गरेकोे थियो तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकिएको छ । निर्माण कम्पनीका अनुसार आउँदो असोजबाट रोकिएको पुल निर्माणको काम पुनः शुरु हुनेछ ।
 


कस्तो लाग्यो ?

यो पनि