बैशाख २२, २०८१, शनिबार
               

तनहुँका किसान अदुवा र बेसारखेतीतर्फ आकर्षित
उत्पादनका आधारमा गाउँपालिकाको अनुदान

नेपाल फ्ल्यास
साउन ०७, २०८०

ADVERTISEMENT

काठमाण्डौ – तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ ।

घिरिङ–१ अत्रौलीका रोमनाथ पोख्रेलले केही समयदेखि निर्वाहमुखीरूपमा अदुवाखेती गरेकोमा अहिले त्यसलाई व्यावसायिक बनाएका छन् । हाल उनले दुई रोपनी क्षेत्रफलमा खेती गरिरहेका छन् । उनि भन्छन्, रोपनीभन्दा माथिको जग्गामा खेती गर्नेलाई अनुदान दिने व्यवस्था ल्याएपछि खेतीलाई विस्तार गरेँ । अनुदानले हामीजस्ता कृषकलाई राहत मिल्छ ।’

घिरिङ–२ चिन्नेखोलाका शेरबहादुर थापाले पनि शुरुमा निर्वाहमुखी रूपमा मात्रै अदुवाखेती गरेकोमा गत वर्षदेखि अदुवाखेतीलाई व्यावसायिक बनाएका छन् । घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यावसायिक बनाएको बताए । उनले भने, अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा पनि आफैँले प्रयोग गर्ने गरी खेती गरिरहेको थिएँ । तर, स्थानीय सरकारले व्यावसायिकरूपमा खेती गर्नेलाई अनुदान दिने व्यवस्था मिलाएपछि यसलाई व्यावसायिक बनाउनेतर्फ लागेँ ।’ हाल उनले चार रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहेका छन् । 

घिरिङ गाउँपालिकाले अदुवा र बेसारखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाएपछि कृषक यसतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले एक सय ४४ जना अदुवा कृषकलाई प्रतिव्यक्ति पाँच हजारका दरले सात लाख २० हजार रुपैयाँ वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने बताउँदै कृषक व्यावसायिक बन्नुपर्ने उल्लेख गरे । प्याज पाँच सय किलो, लसुन दुई सय ५० किलो र बेसार पाँच सय किलोभन्दा बढी उत्पादन गर्नेलाई समेत पाँच हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको अध्यक्ष थापाले बताए । उनले भनछन्, कृषकलाई कृषिमा प्रोत्साहन गर्न यो कार्यक्रम सुरु गरिएको हो।’

सबैभन्दा बढी वडा नम्बर ५ का कृषकले सो अनुदान प्राप्त गरेका छन् । वडा नम्बर ५ मा ८९ जना, वडा नम्बर ४ मा दुई, वडा नम्बर ३ मा ४७ र वडा नम्बर २ का छ जना कृषकले अनुदान रकम प्राप्त गरेको कृषि शाखा प्राविधिक सहायक समीक्षा ढकालले जानकारी दिए । 
यसैगरी जिल्लाको व्यास नगरपालिका वडा नम्बर ८ रिस्तीका कृषक बेसारखेतीमा आकर्षित भएका छन् । अन्य खेती बाँदरले खाएर हैरान भएपछि त्यसको विकल्पमा कृषकले बेसारखेती शुरु गरेका छन् । २० जना कृषकले दुई सय रोपनी जग्गामा बेसारखेती गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । जग्गा बाँझो नराख्न र आयआर्जनमा जोड्ने उद्देश्यले कृषकलाई बेसारखेतीका लागि प्रोत्साहन गरिएको तिवारीको भनाइ छ ।
 

यो पनि