जेठ ०४, २०८१, शुक्रबार
               

डोटीका नौ पालिकामा एक अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज

नेपाल फ्ल्यास
साउन ०६, २०८०

ADVERTISEMENT

डोटी । डोटीमा आर्थिक वर्ष ०७९—०८० मा एक अर्ब तीन करोड ५७ लाख ६९ हजार सात सय ४१ रुपैयाँ फ्रिज गएको छ ।

जिल्लाको चालु र पुँजीगत गरी जम्मा दश अर्ब दुई करोड ५ लाख ९९ हजार दुई सय दुई रुपैयाँमध्ये नौ अर्ब ९८ करोड ४८ लाख २९ हजार चार सय ६० रकम खर्च भएको छ । एक अर्ब तीन करोड ५७ लाख ६९ हजार सात सय ४१ रुपैयाँ खर्च हुन नसकी फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्णबहादुर धामीले जानकारी दिए । 
उनका अनुसार कुल रकममा चालुभन्दा पुँजीगत रकम कम खर्च भएको देखिएको छ । चालुतर्फ कुल सात अर्ब नौ करोड ९७ लाख ६३ हजार दुई सय दुई रकममध्ये ६ अर्ब ७० करोड ४७ लाख ६३ हजार सात सय ९० रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ कुल दुई अर्ब ९२ करोड ८ लाख ३६ हजार रुपैयाँमध्ये दुई अर्ब २८ करोड ६५ हजार ६ सय ७० रुपैयाँ मात्र खर्च हुन सकेको समेत कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिशतमा हेर्दा चालुतर्फ ९४ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ हेर्दा ८९ दशमलव ६६ प्रतिशत खर्च भएको देखिन्छ । नौ वटा पालिका रहेको डोटी जिल्लामा सायल गाउँपालिकाको सबैभन्दा बढी रकम फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख धामीले जानकारी दिए । आर्थिक वर्ष ०७९—०८० मा सायल गाउँपालिकामा चालु र पुँजीगतमा भएको निकासामध्ये चार करोड नौ लाख ४१ हजार रकम खर्च हुन नसकी फ्रिज भएको छ । 

यस्तै, डोटीमा सबैभन्दा कम केआईसिंह गाउँपालिकाको रकम फ्रिज गएको छ । चालु र पुँजीगत गरी कुल बजेटको एक करोड ८० लाख ६२ हजार ७९ रुपैयाँ खर्च गर्न नसकी फ्रिज गएको कार्यालयले जनाएको छ ।

पालिकामा सङ्घीय सरकारको चालु ससर्त अनुदान, पुँजीगत ससर्त अनुदान, पुँजीगत विशेष अनुदान, समपूरक अनुदान र प्रदेश सरकारको चालु विशेष अनुदान, चालु समपूरक अनुदानभन्दा बाहेकको अन्य शीर्षकको रकम यसमा समावेश गरिएको छैन ।

सङ्घीय सरकारको समानीकरण, प्रदेश सरकारको समानीकरण, राजस्व बाँडफाँट, आन्तरिक स्रोत शीर्षकको रकम समेत खर्च हुन नसकी फ्रिज भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि