जेठ ०४, २०८१, शुक्रबार
               

'विवाहित छोरीलाई माइतीको अंशमा अधिकार हुन्छ?'

नेपाल फ्ल्यास
साउन ०४, २०८०

ADVERTISEMENT

आजको कानूनी प्रश्न र त्यसको जवाफमा जनकपुरबाट निलम यादवले प्रश्न गर्नुभएको छ । प्रश्न विवाह गरिसकेकी छोरीले माइतीबाट अंश पाउँछिन् कि पाउँदिनन् भन्ने छ । हेरौँ कानूनी समस्या र त्यसको समाधान:

प्रश्न: मेरो विवाह ११ वर्षअघि भएको थियो । मेरो माइतीमा अहिलेसम्म अंशबन्डा भएको छैन । अब अंशबन्डा हुन लागेको छ । माइतीबाट अंश दाबी गर्न मिल्छ कि मिल्दैन ? - निलम यादव, जनकपुर

जवाफ: निलमजी, अहिलेको कानूनले विवाह भएकी र नभएको दुवै अवस्थामा छोरीलाई अंशमा अधिकार छ । छोरी पनि छोरासरह नै अंशमा कानूनबमोजिम अधिकार प्राप्त छन् । तर तपाईँको हकमा भने माइतीको सम्पत्तिको अधिकार कानूनले सुरक्षित गरेको छैन ।

महिलालाई पनि सम्पत्तिमा समान अधिकार नेपालको कानूनले निकै ढिलो अंगीकार गरेको हो । ३५ वर्ष नाघेकी र अविवाहित छोरीले मात्र अंश पाउने प्रावधान लामो समयसम्म रह्यो । ३५ वर्ष नाघेपछि माइतीबाट अंश लिएकी महिलाले पछि विवाह गरेमा सो अंश फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था थियो । पछि त्यो संशोधन भएर ३५ वर्ष नाघेको उमेरको प्रावधान हटाइयो ।

२०७२ साल असोज १४ गते मुलुकी ऐनमा संशोधन गरेर छोरीले अंश पाउन अविवाहित हुनुपर्ने प्रावधान हटाइयो । त्यसपछि विवाह भएको र अविवाहित छोरीको माइतीको अंशमा समान अधिकार स्थापित हुन पुग्यो ।

त्यसपछि मुलुकी देवानी संहिता २०७४ ले पनि छोरीले पनि अंश पाउने प्रावधानलाई निरन्तरता दिएको छ । सो संहिता २०७५ साल भदौ १ गतेदेखि लागू भएको थियो । संहिताको छोरी पनि अरू अंशियार सरह अंशमा समान हकदार रहने प्रावधान राखेको छ ।

यतिबेला छोरी पनि माइतीको अंशको अरू अंशियार सरह समान हकदार हुन्छन् । तर २०७२ साल असोज १४ गते अगावै विवाह भएका महिलाको हकमा माइतीको सम्पत्तिमा अंशको दाबी गर्ने हक रहँदैन । त्यसअगाडिको कानूनले अविवाहित महिलालाई मात्र माइतीबाट अंश पाउने अधिकार दिएको थियो ।

त्यसैले निलमजी, तपाईँको विवाह २०६९ सालमै भएको देखिएकोले माइतीबाट अंश पाउने कानूनी आधार देखिँदैन । माइतीले अंशबन्डा गर्दा सबै अंशियारको सहमतिमा तपाईँलाई पनि केही हिस्सा दिए भने त्यो अलग कुरा हो । तर कानूनतः अंश दाबी गर्ने आधार तपाईँको छैन ।

प्रश्नका लागि:

[email protected]

Facebook: facebook.com/arjunbkhadka

यो पनि