जेठ ०४, २०८१, शुक्रबार
               

करेसाबारीको महत्त्व बुझाउन पोखरामा ‘करेसा कन्सर्ट’

नेपाल फ्ल्यास
साउन ०४, २०८०

ADVERTISEMENT

कास्की । पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका  छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे यो नाटकका माध्यमबाट बुझाउन खोजिएको छ । 

नाटकमा फर्सीबहादुरको रुपमा रमेशबाबु तिमल्सिना, प्याजीमाया बनेर अञ्जु दाहाल, गोलभेँडाको भूमिका रोशनी रामदामले, लसुन बनेर दिपसना विश्वकर्मा, साग बनेर अनुसा परियार र करेली बनेर रञ्जु दाहालले अभिनय गरेका छन् ।

त्यस्तै, अदुवा बनेर समीर पुन, लौका बनेर नम्रता ढकाल, धनियाँ बनेर पूर्णिमा अर्याल, काँकरी बनेर सोनिया कार्की खत्री, मुलाबाबु बनेर रायन गुरुङ, भाले बनेर रोहित पौडेल र चिल्ली बनेर धनकाजी श्रेष्ठले अभिनय गरेका छन् । गन्धर्व नाटक घरको स्टेजमा सुन्दर करेसाबारी निर्माण गरिएको छ ।

केदार श्रेष्ठद्वारा लिखित यो नाटक अञ्जु दाहालको  निर्देशनमा तयार पारिएको हो । लेखक श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार गरेको बताए । निर्देशक दाहालले विद्यार्थीलाई करेसाबारीबारे जान्न बुझ्न नाटक महत्त्वपूर्ण हुने पनि जानकारी दिए । 

‘बुकिङ सो’ मार्फत् पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको यो नाटक आमदर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’मार्फत् पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिवार दिउँसो १ बजे मञ्चन गरिने भएको छ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेश्वरीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र नाटकप्रेमीका लागि समेत उत्तिकै महत्त्वपूर्ण रहेकाले पब्लिक सोको रुपमा मञ्चन गर्न लागिएको जानकारी दिए । करिब एक घण्टा १० मिनेट अवधिको यो नाटकमा सङ्गीत संयोजक कमल केसी, मञ्च सजावटको काम अमृत परियार र प्रकाश परिचालनको काम मिलन श्रेष्ठले गरेका थिए । 
 

यो पनि