जेठ ०४, २०८१, शुक्रबार
               

भोजपुरको हतुवागढीमा पदमार्ग निर्माण गरिँदै
पयर्टन प्रवर्द्धनमा एउटा अर्को प्रयास

नेपाल फ्ल्यास
साउन ०३, २०८०

ADVERTISEMENT


काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गर्दैछ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो ।

एक करोड ३४ लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ ।

आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रुपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत महेश निरौलाले जानकारी दिए । पदमार्गको थप विकास तथा विस्तारको लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा यस वर्ष एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको उनको भनाइ छ । 

‘गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पदमार्ग निर्माण गरिरहेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने , हालसम्म करिब छ किलोमिटर निर्माण अन्तिम चरणमा रहेको छ । यसको थप विस्तार तथा विकासको लागि बजेट विनियोजन गरेका छौँ । यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।

पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । हतुवागढी भविष्यभक्ता पोखरीलाई आधार मानेर पदमार्ग निर्माण भइरहेको उहाँको भनाइ छ ।

दूधकोशी चुहारमा पक्की पुल बनेपछि धरान, इटहरी विराटनगरबाट ६५ किलोमिटर दूरीमा घोडेटार रहेकाले यहाँ आउने पर्यटकको आवगमन बढ्ने उनको भनाइ छ । यो पदमार्गलाई हामीले गाउँपालिकाको गौरवको आयोजनाभित्र राखेका छौँ,’ उनले भने । , चुहारमा पक्की पुल बनेपछि यो क्षेत्र तराईका जिल्लाबाट ६५ किलोमिटर मात्र छ । भविष्यमा आन्तरिक तथा बाह्य पर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ ।’

हरियालीसँगै फाटिला पहाडका चौरले पर्यटकको मन लोभ्याउने गरेको छ । दक्षिणी क्षेत्रबाट तराई जिल्लाबाट नजिक पर्ने भएकाले दूधकोशी नदीमा पक्की निर्माणपछि यहाँ पर्यटकको सङ्ख्या अझ बढ्ने गाउँपालिकाको भनाइ छ।

यहाँ आउने पयर्टकलाई प्राकृतिक दृश्यको अवलोकन  गर्दै एकदेखि दुई दिन पूर्णरुपमा बिताउन सक्ने गरी पदमार्गलाई विस्तार गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । किरात राजाहरुले शासन गरेको ऐतिहासिक क्षेत्रमा रहेको यो पदमार्गमार्फत् यहाँको विकासमा थप टेवा पुग्ने उनको भनाइ छ । हतुवा क्षेत्रका सम्पूर्ण धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई समेट्ने गरी योजनाबद्ध विकासमा ध्यान दिएको अध्यक्ष राईको भनाइ छ ।

‘हतुवागढी आफैँमा एक ऐतिहासिक क्षेत्र हो,’ उनले भने, यहाँको छुट्टै विशेषता छ । हामीले यो पदमार्गसँगै यहाँका ऐतिहासिक क्षेत्रको विकासमा ध्यान दिएका छौँ । यसलाई पर्यटकीय क्षेत्र बनाएर गाउँपालिकाको आर्थिक पक्षमा जोड्न लागि परेका छौँ ।’ यो पदमार्गलाई एक ऐतिहासिक पदमार्गको रुपमा विस्तार गर्ने लक्ष्य लिइएको छ । घोडेटार बजार क्षेत्रबाट नजिक रहेको मदमार्गमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको छ । आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले होमस्टे सञ्चालन गर्ने अध्यक्ष राईको भनाइ छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो पदमार्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताए । पदमार्गसँगै हतुवा क्षेत्रको ऐतिहासिक महत्वलाई विश्वभर चिनाएर पदमार्गलाई गाउँपालिकाको आर्थिक स्रोतको रुपमा स्थापित गराउने लक्ष्य रहेको उनकोे भनाइ छ । 

हतुवागढीको सबैभन्दा अग्लो शङ्खामचुली डाँडाहुँदै पदमार्ग निर्माण भइरहेको यो पदमार्गबाट तराईका फाँटसँगै विभिन्न हिमशङ्खलासँगै सगरमाथा पनि देख्न सकिने स्थानीयको भनाइ छ । शङ्खामचुली डाँडाको उचाइ  समुद्री सतहबाट एक हजार आठ सय ६५ मिटर उचाइमा रहेको  छ । पदमार्ग निर्माणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयवासी प्रकाश बस्नेतले बताए । पदमार्ग निर्माणपछि यहाँ आउने पर्यटकको सङ्ख्यामासमेत वृद्धि भएको उहाँको भनाइ छ ।
 

यो पनि