जेठ ०४, २०८१, शुक्रबार
               

कञ्चनपुरको बञ्जरिया खोलाको कल्भर्ट भत्किँयो : आवागमन ठप्प

नेपाल फ्ल्यास
साउन ०२, २०८०

ADVERTISEMENT

कञ्चनपुर । लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० मा रहेको बञ्जरिया (लापनिया)  खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण कल्भर्टको पूर्वतर्फको भाग भत्किएको हो । 

एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको कालोपत्र सडकमा पर्ने कल्भर्टको बीच भागबाट भत्किएको छ । २६ वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले कल्भर्ट निर्माण गरेको थियो । निर्माण गरिएको लामो समयसम्म मर्मत नगरिँदा कल्भर्ट भत्किएको स्थानीय वासिन्दाको भनाइ छ ।

कल्भर्ट जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने वा नयाँ पुल निर्माण गरिनुपर्ने माग छ वर्ष पहिलेदेखि गर्दै आएका हौँ, स्थानीय वासिन्दा चुडामणि जोशीले भन्नुभयो, कुनै पनि निकायले ध्यान दिएन, कल्भर्ट भत्किएपछि आवागमन नै ठप्प भएको छ । सडक कालोपत्र गर्ने कार्य भइरहेका बेला पुरानो कल्भर्ट  जीर्ण भएकाले जुनसुकै बेला पनि भत्किने अवस्थामा रहेकाले नयाँ कल्भर्ट  निर्माणका लागि नगरपालिकासँग आग्रह गरिए पनि सुनवाइ हुन नसकेको उहाँले बताउनुभयो ।

सडकको पानी फाल्नका लागि पूर्वतर्फको भागमा नाली बनाइएको थियो स्थानीय गगनबहादुर साहुले भन्नुभयो, नाली भएकै ठाउँबाट कल्भर्ट  भत्किएको छ, पुलमा आवागमन नभएका बेला भत्किएकाले अप्रिय घटना हुन पाएन । तत्कालीन झलारी गाउँपालिकाका अध्यक्ष टेकबहादुर हमाल विसं २०५४ सालमा कल्भर्ट निर्माणको कार्य प्रारम्भ भइ विसं २०५८ मा सम्पन्न भएको बताउनुहुन्छ । 

कल्भर्ट  निर्माण गर्ने क्रममै खोलामा दलदल हुँदा एकातर्फको भाग भत्किएको थियो उहाँले भन्नुभयो, भत्किँदा केही महिना कल्भर्ट  निर्माणकार्य रोकियो, बजेट थप गरेर पुल पुनःनिर्माण गरिएको हो ।
उहाँका अनुसार त्यो बेला जिल्ला विकास समितिले ठेक्का प्रक्रियाबाट कल्भर्ट १२ लाख रुपैयाँको लागतमा बनाएको थियो । पहिला अहिलेजस्तो पाइलिङ गर्ने प्रविधि थिएनु, उहाँले भन्नुभयो, इँटाको पिलर बनाएर कल्भर्ट बनाइने गरेको थियो, धेरै वर्षसम्म कल्भर्ट मर्मत नहुँदा भत्किएको छ । नगरपालिकाले तत्काल पुल निर्माणका लागि काम अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । कल्भर्ट भत्किएपछि नगरपालिकाले अप्रिय घटना हुन नदिनका लागि पुलका दुवैतर्फको आवागमन बन्द गरेको छ ।

स्थानीय वासिन्दाले कल्भर्टको आवागमन रोकिएपछि सात किलोमिटरको यात्रा गर्दै झलारी बजार र नगरपालिका कार्यालय पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । कल्भर्ट भएर लालवनिया टोलमा लगिएको खानेपानीको पाइपमा क्षति पुगेको छ । पाइपमा क्षति पुग्दा २० घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् । 

नगरका मेयर रणबहादुर महराले बहुवर्षे ठेक्का लगाएर भए पनि खोलामा कल्भर्ट निर्माणकार्य गरिने बताउनुभयो । वर्षातको समय भएकाले तत्काल कल्भर्ट  निर्माणकार्य गर्न सकिँदैनु, उहाँले भन्नुभयो, वर्षा सकिएसँगै कल्भर्ट निर्माणका लागि पहल गर्छौँ, पुल जीर्ण भएकाले नयाँ बनाउनका लागि पहल गरिहेका थियौँ, त्यही बेला पुल भत्किएको छ । स्थानीय वासिन्दालाई आवतजावतका लागि वैकल्पिक व्यवस्था गरिने उहाँको भनाइ छ ।
 

यो पनि