
काठमाडौँ । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।
कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा. किरण नकर्मीले बताए ।
आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकोले उनको अवस्था क्रिटिकल अवस्था थियो ।
इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्याएको थियो ।
आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्।
डा. कार्कीले हामी हुँदाहुँदै किन यस्तो गर्नुभयो भन्दा आचार्यले आफ्ना कुरा कसैले नसुनेको भन्दै दुखेसो पोखेका थिए ।
राज्यमन्त्री कार्कीले भनेकी थिइन्— हाम्रो नयाँ सरकार बनेको थियो । एकपटक आउनुपर्ने थियो । हामी केही न केही गर्ने थियौँ ।
त्यसपछि आचार्यले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।