बैशाख २४, २०८१, सोमबार
               

सकारात्मक प्रभावका क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीकाे आग्रह

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि त्यसको समाधान गर्ने उद्देश्यले अर्थ मन्त्रालयले आज छलफल गरेको छ। 

बैंक तथा वित्तीय संस्थामा निक्षेप खोसाखोस हुन थालेको तथा नयाँ लगानी गर्न नसक्ने अवस्था पुगेको छ। नेपाल राष्ट्र बैंकले ट्रेजरी, रिपोमार्फत तरलता दिए पनि समस्या समाधान हुन सकेको छैन। बैंकहरुले अन्तर बैंक सापटीमा कारोबार चलाए पनि प्रणालीमा निक्षेप थपिएको छैन। शुक्रबार मात्रै बैंकहरुले २४ अर्ब बराबरको रकम राष्ट्र बैंकसँग सापटी लिएर चलाएका छन्। चालु आवको हालसम्म रु तीन खर्ब बढीले कर्जा लगानी बढाउँदा निक्षेप भने तुलनात्मकरुपमा कम देखिएको छ। 

विप्रेषण कम मात्रामा भित्रिएको तथा पूँजीगत खर्च नभएका कारण प्रणालीमा पैसाको अभाव देखिएको छ। यो सन्दर्भमा अर्थमन्त्री जनार्दन शर्माले  ‘क’ वर्गका २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरेका हुन्। छलफलमा अर्थमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको खास प्रतिफल देखिन नसकेको भन्दै सकारात्मक प्रभाव पर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए। 

अर्थ मन्त्रालयमा आज नेपाल राष्ट्र बैंकका गभर्नरसहित २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा अर्थमन्त्रीले कर्जा प्रवाह भएअनुसारको आर्थिक वृद्धि हुन नसकेको भन्दै त्यसमा सुधार गर्नपर्नेमा जोड दिए। 

ठूला व्यवसायीले उपभोग गरेको कर्जाको प्रतिफलका बारेमा आम रुपमा चर्चा भइरहेको बेला अर्थमन्त्रीले तरलताको अभाव भएको भए साना तथा मझौला कर्जामा ध्यान दिन आग्रह गरे। उनले मुलुकको आवश्यकता, सरकारको चाहना अनुसारको आर्थिक गतिविधि अगाडि बढाउन तयार रहेको र सोही अनुसारको नीतिगत व्यवस्था गरेको भन्दै बैंक तथा वित्तीय संस्थाका केही समस्या भए त्यसलाई समाधान गरिदिन राष्ट्र बैंकलाई आग्रह गरे। 

अर्थमन्त्रीले नीतिगतरुपमा केही समस्या भए त्यसको समाधानका लागि सम्बन्धित निकायले पहल गर्ने विश्वास दिलाएका थिए। छलफलमा नेपाल बैंकर्स सङ्घका अध्यक्ष अनिल उपाध्यायले तरलता अभावका कारण तत्कालका लागि ठूला भनिएका कर्जा रोकेर साना कर्जामा ध्यान दिनुपर्ने अवस्था आएको बताए। साना कर्जालाई प्राथमिकतामा राख्ने विषयमा आफूहरुले विशेष ध्यान दिने धारणा राखेको उनको भनाइ छ। 


कस्तो लाग्यो ?

यो पनि