बैशाख २३, २०८१, आइतबार
               

धवलागिरि अस्पतालमा जीवनजलको चरम अभाव : बिरामीलाई सास्ती

नेपाल फ्ल्यास
कात्तिक १८, २०७८

ADVERTISEMENT

जीवनजल हेर्दा र सुन्दा सामान्य औषधि हो तर जीवन बचाउनका लागि अत्यन्तै महत्वपूर्ण औषधि हो, जीवनजल । मौसम परिवर्तन भएसँगै बागलुङमा अहिले झाडावान्तालगायतका बिरामी बढिरहेका छन् । तर धवलागिरि अस्पतालमा विगत एक सातादेखि जीवनजलको अभाव भएको छ । 

धौलागिरि अस्पतालमा दुई वटा फर्मेसी छन् । एउटा शुल्क र एउटा निःशुल्क । निःशुल्क फर्मेसीमा जीवनजल नपाएपछि सःशुल्क फार्मेसीमा जीवनजल खोज्दासमेत नपाइएको बिरामीको गुनासो छ । दुर्गमका सामान्य स्वास्थ्यचौकी तथा महिला स्वास्थ्य स्वंयमसेविकाको घरमा समेत पाइने जीवनजल २०० श्ययाको उप–प्रादेशिक अस्पताल बनाउने घोषणा भएको धौलागिरि अस्पतालमा जीवनजल नहुनु लज्जास्पद विषय भएको स्थानीयवासीको भनाइ छ ।

सोमबार झाडावान्ताको बिरामी भएर छोरालाई अस्पताल ल्याउनुभएकी सरिता शर्माले अस्पतालमा जीवनजल नपाएर बाहिरको फार्मेसीमा खरिद गरेको बताए । शर्माजस्तै झाडावान्ता लागेका बिरामीले एक सातादेखि अस्पताल बाहिरका फार्मेसीबाट जीवनजल औषधि खरिद गर्दै आइरहेका छन् ।
 
निकै सस्तोमा बाहिर किन्न पाइने जीवनजल सरकारले निःशुल्क गरेको छ । तर गरिब जनताले जीवनजल समेत किन्नुपर्ने बाध्यता पार्ने काम धौलागिरि अस्पताल प्रशासनले गर्दै आइरहेको गुनासो बिरामीको छ  । केही दिनदेखि झाडापखलाका लागि अत्यावश्यक जीवनजल  फार्मेसीमा नरहेको त्यहाँ कार्यरत सुनिता शर्माले स्वीकार गरे । धौलागिरि अस्पतालमा जीवनजल नभएको अस्पतालका फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताए । 

उनले अस्पतालको सशुल्क फार्मेसीमा केही दिनयता जीवनजल सकिएको बताए । उनले निःशुल्क फार्मेसीका विषयमा भने आफ्नो क्षेत्राधिकार नभएको बताए । “मैलै हेर्ने भनेको अस्पतालको सःशुल्क फार्मेसी हो, निःशुल्क फार्मेसी हेर्ने मेरो क्षेत्राधिकारमा पर्दैन, समयमै औषधि ल्याउन खरिद ऐन नै परिवर्तन गर्नुपर्छ नभए औषधि सकिनासाथ खरिद गर्ने प्रक्रिया थाल्दा ढिलो भइहाल्छ, नगद तत्कालै हामीले औषधि खरिद गर्न मिल्दैन सार्वजनिक खरिद ऐनअनुसार जाँदा ढिला हुन्छ”, उनले भने, “स्वस्थ्य बीमाले सबै औषधि दिनुभन्छ, तर खरिद ऐन बाधक बन्छ, त्यसैले भनेको समयमा औषधि दिन सकिरहेका छैनौं ।”  

फार्मेसीमा जीवनजल मात्रै हैन, थाइरोनम २५ लगायतका अन्य अत्यावश्यक औषधिकोसमेत अभाव भइरहेको छ । खरिद ऐन परिवर्तन नभएसम्म यस्तो समस्या दोहोरिने फार्मेसी इन्चार्ज सुवेदीको भनाइ छ । आफू नयाँ भएकाले अस्पतालमा औषधि अभावको विषयमा जानकारी नआएको भन्दै प्रशासन विभागका तेजप्रसाद न्यूरेले तत्कालै जीवनजललगायतका औषधि व्यवस्थापनका लागि पहल गर्ने बताए ।

धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जीवनजललगायतका अत्यावश्यक औषधिको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले फर्मेसीबाट आफूलाई जीवनजलको विषयमा जानकारी नआएकाले आफूले त्यसबारे बुझ्ने र नभएको भए तत्कालै फार्मेसीमा जीवनजल उपलव्ध गराइने बताए । 
 
धौलागिरि अस्पतालमा जीवनजल नपाइए पनि बागलुङ नगरका सबै स्वास्थ्य संस्थामा जीवनजल, सिटामोललगायत अत्यावश्यक औषधिको अभाव नभएको बागलुङ नगर स्वास्थ्य शाखाका संयोजक रामप्रसाद खनालले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि