असोज ०६, २०८१, आइतबार
               

६ वर्षअघिको महाभुकम्पले सुकेको तातोपानीको मुल पुनः पलायो

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८

ADVERTISEMENT

६ वर्षअघि गएको महाभूकम्पपछि सुकेको रसुवाको एउटा तातोपानी कुण्ड पुनः भरिएको छ । आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीस्थित यो कुण्ड ०७२ सालको महाभुकम्पपछि सुकेको थियो ।

गत भदौ मध्यतिर पलाएको तातोपानी गतबर्ष माघमा सुकेको थियो । ८ महिनापछि अहिले पुनः तातोपानी पलाएको स्थानीय नोर्चेल तामाङले बताए । उनका अनुसार ६ वटै धारामा पानी आइरहेको छ । उनले भने, ‘पानीको मात्रा पनि बढिरहेको छ ।’ तातोपानी पुनः देखिन थालेपछि स्थानीय खुसी भएका छन् भने गुमेको व्यवसाय पुनः फर्किनेमा आशावादी भएका छन् । बिनासकारी भूकम्पपछि तामाङ सम्पदा मार्ग र तातोपानी कुण्डको पानीको मुहान हराएपछि धार्मिक तथा साँस्कृतिक परम्परादेखि व्यावसायिक कारोबारसमेत प्रभावित भएको थियो । 

भूकम्पअघिसम्म यो कुण्डमा ४० डिग्री सेन्टिग्रेट तापक्रम र प्रतिसेकेन्ड सय लिटर हाराहारीमा पानी निस्कने गरेको अनुमान छ । तातोपानीको मुहान सुकेपछि व्यापारिक प्रयोजनाका लागि लाखौँ रुपैयाँ खर्चेर बनाएका होटल सुनसान भएका छन् । पर्यटक नआउँदा केहीँले होटल व्यवसाय छोडी पलायन भएका छन् । 

तातोपानी पोखरीमा नुहाएमा छालासम्बन्धी रोग, शरीरको खटिरा, दम, गानो गोला बाथ, चर्मलगायतको रोगबाट ग्रसित बिरामी ठिक हुने विश्वास छ । तातोपानी कुण्डमा नुहाउन स्वदेशी मात्र नभएर बिदेशी पर्यटन समेत आउने गर्थे । दुई हजार ६४५ मिटरको उचाइमा अवस्थित तातोपानी कुण्डलाई भुकम्पको कम्पनले पुर्‍याएको क्षतिपश्चात पुनः पहिलेको अवस्थामा फर्किएको हुँदा पर्यटकीय तथा धार्मिक स्थानको संरक्षणमा ध्यान दिनुपर्ने जानकार बताउँछन् ।
 


कस्तो लाग्यो ?

यो पनि