जेठ ०४, २०८१, शुक्रबार
               

पूर्वी तराईका २० जिल्ला पूर्णरुपमा अन्धकार, बिजुली नियमित गर्न प्रशासन र सुरक्षाकर्मी परिचालन

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । सोमबारदेखि परिरहेको अविरल वर्षाका कारण २० जिल्लामा बिजुली अबरुद्ध भएको छ । बिजुली आपूर्ति हुन नसक्दा ती जिल्लाका नागरिकहरु उज्यालोका लागि टुकी बाल्न बाध्य भएका छन् ।

कोशी र मेची अञ्चलमा बिजुली सप्लाई पूर्ण रुपमा अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बताए । ‘बिजुली अवरुद्ध हुँदा पूर्वी नेपालका मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङा, खोटाङ, उदयपुरमा बिजुली अबरुद्ध भएको छ,’ उनले भने, ‘प्रदेश नं १ का १४ जिल्लाहरुमा पूर्ण रुपमा ब्ल्याक आउट भएका छन् ।

यसैगरी, महाकाली अञ्चलको डडेलधुरा, बैतडी र दार्चुलामा बिजुली सप्लाई बन्द भएको जानकारी पनि उनले दिए । त्यस्तै, सेती अञ्चलको डोटी, बझाङ र बाजुरा प्रसारणलाईनमा क्षति पुग्दा बिजुली अबरुद्ध हुन पुगेको भट्टराईको भनाइ छ ।

‘पूर्वी नेपालको दुहबी सबस्टेशन भित्र पानी छिरेकोले पानी हटाउने काम भइरहेको छ,’ उनले भने, ‘सोमबारबाट परिरहेको अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुवानमा परेको छ ।’

दुहवीस्थित सबस्टेसन डुवानमा परेपछि त्यहाँबाट विद्यत् आपूर्ति हुने लाइन काटिएको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए ।

‘बाढी पसेर सबस्टेसन डुवानमा परेपछि त्यहाँबाट विद्युत आपूर्ति गर्ने लाइन काटिएको छ, यसबाट प्रदेश नं १ का जिल्लाहरुमा ब्ल्याक आउट भएको छ,’ उनले ‘सबस्टेसनको नियन्त्रण कक्ष डुवानमा परेको छ, अहिलेसम्म मुख्य उपकरणमा क्षति नपुगेको जानकारी पाएका छौं, पानी नरोकिएमा उपकरणहरुमा ठूलो क्षति पुग्ने देखिएको छ, यस्तो भएमा त्यस क्षेत्रमा विद्युत आपूर्ति केही दिन बन्द हुन सक्छ, अहिले सबस्टेसनभित्रको पानी हटाएर उपभोक्तालाई जतिसक्दो छिट्टो विद्युत आपूर्ति उपलब्ध गराउन प्रयासरत छौं ।’

सबस्टेसनको पानी हटाउनका लागि आवश्यक सहयोग गरिदिन स्थानीय सरकार, प्रशासन, नेपाली सेना, नेपाल प्रहरीलगायतलाई आग्रह गरिएको प्रवक्ता भट्टराईले बताए ।

उनले दुवही सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको बताए । यसबाट काबेली करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन पनि बन्द भएको छ ।

त्यसैगरी, वर्षाका कारण पश्चिम नेपालका विभिन्न स्थानमा रुख ढल्दा अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ । यसबाट दार्चुलामा सञ्चालन रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादनसमेत बन्द भएको छ । सुदूरपश्चिमका डडेलधुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरा जिल्लाको विद्युत आपूर्तिसमेत बन्द भएको छ ।


कस्तो लाग्यो ?

यो पनि